ad ad

समाज


सेवामा फड्को मार्दै महाकाली अस्पताल : स्थापनाको ५७ वर्षपछि आईसीयू र आफ्नै फार्मेसी

सेवामा फड्को मार्दै महाकाली अस्पताल : स्थापनाको ५७ वर्षपछि आईसीयू र आफ्नै फार्मेसी

गोकुल जोशी
भदौ १५, २०७७ सोमबार ७:१५,

२०७६ जेठ १५ गते कृष्णदत्त जोशी (बोक्सर) पहिलो पटक महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष बने।

‘रेफर’ अस्पतालको रुपमा परिचित अस्पतालकोे अध्यक्ष हुँदा जोशीलाई निकै चुनौति थियो। प्रयाप्त चिकित्सकको अभावमा अस्पतालको सेवा लथालिङ्ग थियो। अस्पतालमा चिकित्सक सकेसम्म आउन चाहदैनथे। आइहाले पनि धेरै समय बस्दैनथे।

आइसीयू उपकरण जडान भएर पनि सञ्चालनमा आउन सकेको थिएन। यो क्षेत्रकै प्रमुख अस्पतालसँग आफ्नै एम्बुलेन्स समेत थिएन।

यस्तो अवस्थामा दक्ष जनशक्ति पदपुर्ति गर्दै अस्पतालको सेवा सुधारको जिम्मा जोशीको काँधमा आएको थियो। अध्यक्ष जोशी अस्पतालमा लागेको ‘रेफर सेन्टर’ को दाग मेटाउन चाहन्थे। त्यसैले अस्पतालको सेवा सुधारका लागि सुरुदेखि नै जोशी सक्रिय रुपमा लागे।

यस क्षेत्रका जनप्रतिनिधिलाई दबाब, बारम्बार प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराउनेदेखि काठमाडौँ गएर सरोकारवालासँग छलफल गरेर अस्पतालको सेवा सुधारमा केन्द्रित रहे।

अस्पतालका मेडिकल सुपरिडेन्ट हरिकुमार श्रेष्ठ, स्थानीय बुद्धिजीवि तथा नागरिक सरोकार समुहबाट पनि अध्यक्ष जोशीले साथ पाए।

त्यही सक्रियताले पछिल्लो सयम महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारन्मुख छ। अस्पतालको सेवा सुधारको प्रमुख समस्याका रुपमा रहेको चिकित्सक अभाव विस्तारै हल हुदै गएको छ।

mahakali hospital ICU 2

अस्पताल स्थापनाको ५७ वर्षपछि पहिलो पटक सघन उपचार (आईसीयू) सेवा साेमबारदेखि सञ्चालनमा आएको छ। प्रतिनिधि सभा सांसद निरु पालले एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरेकी हुन्।

जनशक्ति अभावले आईसीयू सेवाका लागि उपकरण जडान भएको लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको थिएन।

वि.स. २०२० सालमा प्राथमिक स्वाथ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१ सालमा १०० बेडसहित विस्तार र ०७५ मा प्रादेशिक अस्पतालका रुपमा स्तरबृद्धि गरिएको थियो।

सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा लामो समयको प्रयास र पर्खाइपछि आईसीयू सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष जोशी बताउँछन्।

अस्पतालमा अहिले तीन भेन्टिलेटर जडान गरेर छ वटा बेडको आईसीयू सेवा सञ्चालन गरिएको उनले बताए। ‘आईसीयू सञ्चालनका लागि प्रदेशले एक करोड रुपैयाँ बजेट दिएको छ।

अक्सिजन प्लान्टका लागि छुट्टै ८० लाख रुपैयाँ आएको छ। तर लकडाउनका कारण बाहिरबाट मगाउन नसक्दा हाल त्यो रोकिएको छ,’ उनले भने, ‘अक्सिजनका १० वटा सिलिण्डरमार्फत अस्थायी रुपमा आईसीयू सेवा सञ्चालन गरिएको हो।’

mahakali hospital ICU 3

अक्सिजन प्लान्टका लागि चैत्र ७ गते नै टेण्डर आह्वान गरे पनि बाहिरी देशबाट मगाउनु पर्ने भएकाले अहिले त्यो आउन नसकेको हो।

‘यहाँका बिरामीहरु बाहिर जान नपरोस् भनेर हामीले अस्थायी रुपमै भएपनि आइसीयू संचालन गरेका छौँ,’ जोशीले भने, ‘अझै पनि हामीसँग जनशक्तिको कमी छ। त्यो पूर्तिका लागि माथिल्ला तहहरुमा पहल भइरहेको छ।’

तत्कालै आईसीयू कक्षमा चार वटा भेन्टिलेटर र १० वटा बेड थप्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

आईसीयू सेवामा डा. अर्जुन भट्ट, एनएस्थेसिया विशेषज्ञ डा. बिरेन्द्र बुडाल सहितको टिम खटिएको छ। ‘उपचारका लागि अन्यत्र जाने बाध्यता हट्यो’

आईसीयू सेवा सञ्चालनमा आएसंगै उपचारका लागि चर्को मूल्य तिरेर निजी क्लिनिक तथा अर्को जिल्ला जानुपर्ने बाध्यता हट्ने स्वास्थ्यकर्मी तथा स्थानीयहरुले अपेक्षा गरेका छन्।

आईसीयूले कोरोनाका गम्भीर बिरामीलाई निकै राहत मिल्ने चिकित्सकहरु बताउँछन्। अस्पतालमा आईसीयू सेवा सुरु भएसँगै बिरामीको उपचारमा सहज भएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट हरिकुमार श्रेष्ठले बताए।

‘आईसीयू नहुँदाको समस्या धेरै थियो। बिरामीहरुलाई भारत र धनगढी पठाउनु पथ्र्यो,’ उनले भने, ‘पहिले सबै केसहरु रेफरल नै हुन्थे। अब हामीले धेरै हदसम्म बिरामीलाई यहिँ उपचार गर्न सक्छौं।’

भेन्टिलेटरको सुविधाले सर्पदंश तथा श्वाप्रश्वासको बिरामीलाई समेत उपचार गर्न सहज हुने बताए।

पहिले नजिकै अस्पताल भएपनि उपचारका लागि भारत र धनगढी जानुपर्ने बाध्यता रहेको सुनाउदै आईसीयू सञ्चालनपछि अब घरबाट सेवा लिन सकिने स्थानीय उत्तम विष्टले बताए।

‘पहिले त घर नजिक अस्पताल भएपनि उपचार गर्न टाढा जानुपथ्र्यो,’ उनले भने, ‘पैसा मात्रै होइन, आउन जान र बस्नको साह्रै समस्या हुन्थ्यो। अब ढुक्क भयो।’

mahakali hospital gate

थपिए डाक्टर
बिगतमा दक्ष जनशक्तिको अभावमा थला परेको अस्पतालमा अहिले भने जनशक्ति थपिदै गएका छन्। अस्पतालमा बिशेषज्ञ डाक्टरसहित २८ जना चिकित्सकको दरबन्दीमा २१ जना कार्यर्त रहेको अस्पतालले जनाएको छ।

यो जनशक्ति बिगतका तुलनामा धेरै बढि हो। २१ जना बिशेषज्ञ डाक्टरको दरबन्दीमा स्त्रीरोगसम्बन्धी तीन, हाडजोर्नीसम्बन्धी दुई, एमडिजिपी दुई , ल्याबमा एक र एनस्थेसियामा एक गरी नौ जना बिशेषज्ञ डाक्टर छन्। त्यसैगरी १२ जना मेडिकल अधिकृत छन्।

आफ्नै फार्मेसी
अस्पतालले जेठ महिनादेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। स्थापनाको साढे पाँच दशकपछि आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताल सफल भएको हो।

हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने सरकारको निर्णय अनुरुप महाकालीले पनि चालु आर्थिक वर्षदेखि आफ्नै फार्मेसी सुरु गरेको हो।

अस्पताल परिसरमै फार्मेसी स्थापना भएपछि विपन्न एवं गरिब समूदायका बिरामीलाई ठुलो राहत पुगेको छ। २५ लाख बराबरको आधारभूत औषधि राखेर फार्मेसी स्थापना गरिएको हो।

थाइराइड जाँच सेवा
अस्पतालले सोमबारदेखि थाइराइडको ल्याब सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अस्पतालले थाइराइडको ल्याब सञ्चालनमा ल्याएको हो।

गतवर्ष प्रदेश सरकारले सामग्री तथा उपकरणका लागि दिएको बजेटबाट थाइराइड मेसिन खरिद गरी सञ्चालन गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .