ad ad

समाज


भैरहवाको युसीएमएसमा आईसीयू र भेन्टिलेटरसहितको कोभिड सेवा सञ्चालन

भैरहवाको युसीएमएसमा आईसीयू र भेन्टिलेटरसहितको कोभिड सेवा सञ्चालन

प्रकाश न्यौपाने
भदौ १८, २०७७ बिहिबार १२:२१,

निजी क्षेत्रबाट सञ्चालित भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस)ले कोभिड–१९ का विरामीका लागि छुट्टै सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सुरक्षामा उच्च सर्तकता अपनाउँदै उपकरणसहित कोभिड उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सदन मुखीले जानकारी दिए।

अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर अब कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्ने जनाएको हो। अस्पतालमा नियमित बिरामी भन्दा छुट्टै ठाउँमा संक्रमित बिरामीलाई राख्ने गरी आइसीयू र भेन्टिलेटरसहितको उपचार कक्ष स्थापना गरिएको छ।

अस्पतालकाअनुसार आकस्मिक आइसोलेसन, होल्डिङ वार्ड, आकस्मिक सल्यक्रिया कक्ष, दुईवटा आइसोलेसन वार्ड र गम्भीर प्रकृतिका संक्रमित बिरामीको उपचारका लागि छुट्टै कोभिड वार्ड बनाएको छ।

अस्पतालका जनसम्पर्क अधिकृत शुशील गुरुङले २ वटा भेन्टिलेटरसहितको ३० वटा वेडको आकस्मिक आइसोलेसन कक्ष, आकस्मिक शल्यक्रियाका ३ वटा कक्ष र ३० वेडको होल्डिङ वार्डको बनाइएको बताए। यस्तै, अस्पतालले गम्भीर प्रकृतिका संक्रमित बिरामीका लागि फेरि छुट्टै दुईवटा भेन्टिलेटरसहित ८ वेडको कोभिड आईसीयुसमेत बनाएको छ।

‘आजसम्म हामीले कोरोना संक्रमितलाई अन्यत्र रिफर गर्दै आएका थियौं। अब गम्भीर प्रकृतिका संक्रमित, संक्रमण पुष्टि भएका तर अन्य गम्भीर रोग लागेका बिरामीको पनि यही उपचार गर्छौं। अन्य कोभिड अस्पतालमा रिफर गर्नुपर्ने बाध्यतालाई निराकरण गरिएको छ’, गुरुङले भने।

मेडिकल सुपरीटेन्डेन्ट डा. सदन मुखिले अब संक्रमित भएकै कारण बिरामी अन्य अस्पताल धाउन नपर्ने जनाए।

‘पीसीआर परीक्षण पोजेटिभ देखिएका अस्पतालमा उपचारत बिरामी तथा स्वास्थ्यकर्मीको यही नै उपचार हुन्छ। उपचारका लागि निर्धारित मापदण्डमा रहेर ५० वेडको आइसोलेसन वार्डको बनाएका छौं’, उनले भने, ‘अहिलेसम्म नेपाल सरकारबाट अस्पतालले कुनै किसिमको सेवा सुविधा प्राप्त गरेको छैन। स्वास्थ्य सुरक्षा तथा अन्य सामग्रीको मूल्य र सहज प्राप्तिमा निकै कठिनाइ भएको छ।’

बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीकै पीसीआर नमुना संकलन र परीक्षण रिपोर्ट समयमा उपलब्ध हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमै असर परेको उनले बताए।

अस्पतालका अनुसार अहिलेसम्म यहाँ कार्यरत ३९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमध्ये १२ जना चिकित्सक, २० जना नर्सिङ कर्मचारी, ३ जना टेक्निसियन, १ जना प्रशासनिक कर्मचारी र ३ जना वार्ड एटेन्डरहरु छन्।

संक्रमित ३९ जनामध्ये ७ जना स्वास्थ्यकर्मी निको भएका छन्। यस्तै, १६ जना होमआइसोलेसनमा, १३ जना अस्पतालको आइसोलेसन वार्डमा र ३ जनाको कोभिड आईसीयुमा उपचार भइरहेको गुरुङले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .