ad ad

समाज


विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न दिइन्न : शिक्षामन्त्री

विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न दिइन्न : शिक्षामन्त्री

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ९:४८,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन्।

मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वक्तृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए।

‘अहिले पनि संक्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर संक्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन। हाम्रा स्वास्थ्य स्रोत साधन कम छ। त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ’, मन्त्री पोखरेलले भने, ‘विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन। आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन।’

मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे। मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताए।

‘कोरोनाकालमा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव छैन भन्ने पाठ सिकाएको छ। विश्वस्वास्थ्य संगठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्छ भनिरहेको छ। स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न। शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ’, उनले भने।

मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने बताए। ‘संकटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको छ। पहिले रोगविरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको र अहिले शिक्षामा केन्द्रित भएको छ’, मन्त्री पाखेरेलले भने, ‘भूकम्पको समयमा वैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई अघि बढाउन सकेको भए अहिले सहज हुने रहेछ। अब वैकल्पिक प्रणाली बनाउँदै विद्यार्थीको सिकाइलाई प्राथमिकता दिइनेछ।’

मन्त्री पोखरेलले पोष्टबहादुर बोगटी शिक्षालय नुवाकोटमा सञ्चालन गर्न लागिएको जानकारी दिँदै जागृत नुवाकोट र सचेत नुवाकोट बनाउनको लागि आफू लागि परिरहेको समेत बताए।

कार्यक्रममा नुवाकोट क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, जिल्ला समन्वय समितका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतले जोखिम कम भएको र थोरै विद्यार्थी भएका विद्यालयमा सुरक्षाको मापदण्ड पूरा गरेर भौतिकरुपमा उपस्थित गराएर र अन्य विद्यालयमा वैकल्पिक विधिबाट शिक्षण क्रियाकलाप अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

‘वैकल्पिक शिक्षा सिकाइमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा १२ वटा स्थानीय तहका १२ जना छात्रछात्राको सहभागिता थियो। प्रतियोगिता रुम टु रिड र रुडेक नेपालको आयोजनामा भएको हो।

पालिकास्तरमा सञ्चालन भएको प्रतियोगितामा छनोट भएका १२ जनालाई आजको कार्यक्रममा सहभागिता गराइएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए। प्रतियोगित नेपालय कलेजको आर्थिक सहयोगमा सञ्चालन भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .