ad ad

समाज


हल्लाको पछि नकुद्नुस्, कतार श्रमिक पठाउन सिन्डिकेट हुँदैन : मन्त्री यादव

हल्लाको पछि नकुद्नुस्, कतार श्रमिक पठाउन सिन्डिकेट हुँदैन : मन्त्री यादव

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ८:१०,

कतारमा श्रमिक पठाउने जिम्मा केही म्यानपावर व्यवसायीलाई मात्रै दिन लागेको भन्दै व्यवसायीहरुले बिरोध गरिरहेका बेला श्रममन्त्रीले भने सो कुरा हल्ला मात्र भएको बताएका छन्।

म्यानपावर एजेन्सीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्ति नै निकालेर आपत्ति जनाइसकेको छ।

तर श्रममन्त्री रामेश्वर राय यादवले भने बाहिर हल्ला भएजस्तो केही पनि नभएको बताएका छन्।

‘केही म्यानपावरलाई मात्रै श्रमिक पठाउन दिने कुरै भएको छैन। मन्त्रालयमा यस्तो केहि भएको छैन तर हुँदै नभएको हल्ला कहाँबाट आयो? कसले अफवाह फैल्याइरहेको छ,’ मन्त्री यादवले नेपालखबरसँग कुरा गर्दै भने।

कतारमा केही म्यानपावर व्यवसायीले मात्रै श्रमिक पठाउन पाउने गरी तयारी गरिरहेको श्रम मन्त्रीमाथि व्यवसायीले आशंका गरेका छन्।

व्यवसायी संघले भने कुनै पनि बहानामा कुनै पनि देशमा श्रमिक पठाउने विषयमा गरिने सिण्डिकेटको बिरोध गर्ने जनाएको छ।

संघले विज्ञप्ति नै निकालेर सिण्डिकेट खडा गरिए सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएको थियो।

‘व्यवसायीले नै सञ्चारमाध्यममा आएको भनेका छन्, सञ्चारमाध्यमले हुँदै नभएका कुरा लेखे पनि त्यस्ता कुराको पनि मैले जवाफ दिनुपर्ने,’ मन्त्री यादवले प्रश्न गरे।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पनि बाहिर हल्ला गरे जस्तो कुनै तयारी नभएको बताए।

‘सरकारले चाहियो भने गर्नै नसक्ने भन्ने त हुँदैन तर अहिलेसम्म यो विषयमा छलफल भएको छैन र कतारसँग भएको श्रम समझदारीअनुसार त्यसो गर्न तत्काल संभव छैन,’ महानिर्देशक दाहालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .