ad ad

समाज


छिटो पीसीआर नतिजा दिने प्रविधि भित्र्याउने तयारीमा सरकार

छिटो पीसीआर नतिजा दिने प्रविधि भित्र्याउने तयारीमा सरकार

सागर न्यौपाने
भदौ २८, २०७७ आइतबार १६:१२,

सरकारले कोरोना संक्रमण भएनभएको छिटो पत्ता लगाउन ड्राइ रिएजेन्ट बेस्ड पीसीआर प्रविधि भित्र्याउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको विज्ञ टोलीले सो प्रविधि नेपालमा भित्र्याउने विषयमा अध्ययन गरिरहेको छ। ड्राइ टेक्नोलोजीबाट पीसीआर गर्न सके एक घण्टामै रिपोर्ट आउने मन्त्रालयका अधिकारीको दाबी छ।

यही विधिबाट युरोपका अधिकांश मुलुकले कोरोना परीक्षण गरेको भन्दै मन्त्रालयले नेपाल ल्याउन खोजेको हो।

नेपालमा अहिले प्रयोगमा ल्याइएको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट आउन कम्तीमा पनि १२ घण्टा लाग्ने गरेको छ। अझ भीड बढी भएको र सरकारी प्रयोगशालाले ७ दिनसम्म पनि रिपोर्ट दिन सकेको छैन।

सो प्रविधि नेपाल ल्याउन सके सहज हुने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

‘अहिले गरिँदै आएको पिसीआरको विकल्पका रुपमा ड्राइ पिसीआर प्रविधि ल्याउनेबारे विज्ञहरुसँग छलफल भइरहेको छ, निर्णय भइसकेको छैन,’ गौतमले भने, ‘छिटो रिजल्ट चाहिने ठाउँहरु एयरपोर्ट र अस्पतालमा बिरामीको छिटो उपचार गर्नुपर्ने अवस्थामा यसबाट रिपोर्ट लिएर काम गर्न सकिन्छ।’

यो नयाँ प्रविधि भएकाले मन्त्रालयमा रहेको विज्ञ र प्राविधिक कमिटीले त्यसबारे अध्ययन गरिरहेको उनले बताए।

‘यसबारे अध्ययन भइरहेको छ। विज्ञहरुले राम्रो र उपयुक्त छ भनेपछि त्यसलाई ल्याउने प्रक्रिया अघि बढ्छ, यो अहिले भएको पीसीआरको रिप्लेसमेन्ट नभएर थप सपोर्टिभ प्रविधि ल्याउने हो,’ गौतमले थपे।

अहिले पर्याप्त मात्रामा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

ड्राइ रिएजेन्ट बेस्ड पीसीआरले छिटो रिपोर्ट दिने भएपनि त्यसमा एकैपटक धेरैको परीक्षण गर्न भने नसकिने गौतमले बताए।

‘अब सबै कुरा खुल्ला हुँदै गएका छन्, मानिसको भीड झन् बढ्दैछ, त्यही भएर छिटोछिटो परीक्षणको रिपोर्ट दिनुपर्ने हुन्छ। ड्राइ पीसीआर परीक्षण गर्दा छिटो भयो भने उपचार छिटो गर्न सकिन्छ भन्ने हिसाबले त्यसलाई नेपालमा भित्र्याउने विषयमा छलफल भएको हो,’ गौतमले भने।

तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले भने ड्राइ पीसीआर विधिबाट त्यतिधेरै छिटो रिपोर्ट नआउने बताइन्।

‘यो त्यस्तो छिटो पनि होइन। नमुना एकदमै छिटो ल्याबमा ल्याइसक्नुपर्छ, अनि एउटा बक्समा राखेर झोल हालेर भीटीएमजस्तै बनाएर तताउनुप¥यो। त्यसमा जति समय लाग्छ, अहिलेको विधिले त्यति नै समयमा गर्छ,’ उनले भनिन्।

त्यसैले यो अहिलेको पीसीआरको विकल्प नहुने डा. झाको भनाइ छ।

के हो ड्राइ रिएजेन्ट बेस्ड पीसीआर?
भीटीएमको झोलमा स्वाब राख्नुको सट्टा यो विधिमा स्वाबलाई टेस्ट ट्युबमा राखिन्छ र ल्याबमा पु¥याइन्छ र त्यहीँ झोल हालिन्छ।

पीसीआर परीक्षण गर्दा स्वाबबाट आरएनए एक्स्ट्रयाक्सन गरिन्छ र त्यसको परीक्षण हुन्छ।

‘तर ड्राइ पीसीआरमा त्यसरी आरएनए निकालिँदैन बरु, झोललाई तताइन्छ र चिस्याइन्छ। त्यसपछि जे बाँकी रहन्छ। त्यसको परीक्षण गरिन्छ,’ डा. झाले भनिन्, ‘खासमा तताउँदा आरएनए निस्किन्छ। नत्र त परीक्षण नै हुँदैन।’

डा. झाले विश्वमा जे उपलब्ध छ, त्यो भित्र्याउनभन्दा नेपाललाई जे आवश्यक छ, त्यो ल्याउन पहल गर्नुपर्ने बताइन्।

‘भोलिका दिनमा धान्नै सकिएन भने जे सकिन्छ, त्यो ल्याउँदा भयो। तर, अहिले त्योभन्दा अरु विधि पनि आइसकेका छन्,’ उनले भनिन्, ‘छिटो गर्नुप¥यो भनेपनि हाम्रोमा यातायातको पनि समस्या छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले भने अहिले प्रयोग गरिएको पीसीआरले कम्तीमा ६ घण्टा लगाउने गरेको बताए।

‘यो विधिबाट एकदुई घण्टामा रिपोर्ट आउँछ। सबै ठाउँमा जरुरी छैन। तर, कुनैकुनै तत्काल रिपोर्ट चाहिने ठाउँमा भने एकदमै उपयोगी हुन्छ।’

काठमाडौंमै पनि एक दुई स्थानमा राख्न सके तत्काल रिपोर्ट चाहिएको अवस्थामा त्यसले सघाउ पु¥याउने मन्त्रालयका अधिकारीहरुको भनाइ छ।
नयाँ प्रविधि भित्र्याउने विषयमा अध्ययन सुरु भएपनि नेपालमा कहिले ल्याउन सकिन्छ भन्ने यकिन छैन।

‘आगामी केही समय कोरोना संक्रमण बढ्ने र परीक्षण रिपोर्ट छिटो दिन ड्राई पिसीआर प्रविधि ल्याउनेबारे छलफल चलेको हो, पहिले सैद्धान्तिक स्वीकृत हुनुप¥यो अनि खरिद प्रक्रिया मिलाउनुप¥यो,’ प्रवक्ता गौतम भन्छन्।

सबै क्षेत्र खुलाउँदै लगिने
स्वास्थ्य मन्त्रालयले जारी निषेधाज्ञा क्रमैसँगै खुलाउँदै जाने योजना बनाएको छ।

‘अब नागरिकहरुलाई धेरै लामो समय निषेधाज्ञा र लकडाउन गरेर राख्न सकिँदैन, मानिसले कोरोनाले भन्दा भोकले मर्ने खतरा बढ्यो,’ गौतमले भने, ‘जनस्वास्थ्यलाई पालना गर्दै देशलाई क्रमैसँग खोल्दै पुरानै अवस्थामा लैजानुपर्छ।’

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन साउन ७ गते खोलेको थियो। त्यसपछि कोरोना संक्रमित निरन्तर बढ्न थालेपछि भदौ ३ गते उपत्यकाका तीन जिल्लासहित ४४ जिल्लामा गरिएको निषेधाज्ञा भदौ २४ गते खुकुलो पारिएको छ। देशका केही जिल्लामा भने संक्रमणको जोखिम उच्च भएको भन्दै निषेधाज्ञा लगाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .