ad ad

समाज


निको भएका व्यक्तिका पीडा : कोरोनालाई जित्यौं तर समाजसँग हार्‍यौं

निको भएका व्यक्तिका पीडा : कोरोनालाई जित्यौं तर समाजसँग हार्‍यौं

नेपालखबर
भदौ २८, २०७७ आइतबार १६:१९,

कोरोना सङ्क्रमण भएर निको भएका व्यक्ति अहिले पनि समाजमा अपहेलित हुनुपरेको गुनासो गर्छन्।

संक्रमितले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरूलाई सामाजिक अपहेलना हुने गरेको उनीहरू सुनाउँछन्।

आफूहरू मात्र होइन, आफ्ना कारण नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनुपरेको बताउँछन्, कैलालीको घोडाघोडी नगरपालिका–३ निवासी कोरोनाबाट मुक्त एक व्यक्ति। ‘हामीलाई कोरोना छैन, हामीले कोरोनालाई जितेका छौं, तर समाजसँग हार्यौं, हाम्रा कारण वरपरका व्यक्तिलाई समेत समुदायमा अप्ठ्यारो भएको छ,’ उनले भने।

उनी अगाडि सुनाउँछन्, ‘मेरो छिमेकी सामुदायिक वनको समितिमा हुनुहुन्थ्यो, छलफल गर्दा उहाँलाई सधैं बोलाउँथे तर अहिले मेरै कारण उहाँलाई बैठकमा बोलाउन छाडिएको छ।’

त्यस्तै घोडाघोडी नगरपालिका–३ कै अर्का कोरोनाबाट मुक्तले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमअन्तर्गत काम गर्न जाने गरेका छिमेकीलाई आफ्नो घरमा आएको भन्दै काम गर्नबाट वञ्चित गरिएको गुनासो गरे।

आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसक्दा पनि अझै समाजले घृणा गरेको देख्दा उनलाई निकै पीडाबोध हुन्छ। ‘हामी पूर्ण रूपमा निको भैसकेका छौं,’ घोडाघोडी नगरपालिका–८ का कोरोनामुक्त अर्का व्यक्तिले भने, ‘तर अझै पनि हाम्रो घर नजिक कोही आउँदैनन्।’

कोरोनालाई पराजित गरेका घोडाघोडी नगरपालिका–१० का रमेश पाण्डे भन्छन्, ‘हामीलार्ई आफ्नै गाउँ समाजले त साथ दिँदैन भने अरू कोसँग सहयोगको अपेक्षा गर्ने? एकअर्कालार्ई परेका बेला काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला? मर्दापर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो,’ उनी प्रश्न गर्छन्।

भारतबाट आएका मान्छे भन्नेबित्तिकै घृणा गर्छन्, झन् आफू त सङ्क्रमित भइसकेकाले समाजले गरेको व्यवहार निकै पीडादायी रहेको बताउँछन्, घोडाघोडी नगरपालिका–६ का अर्का कोरोनाबाट मुक्त व्यक्ति। उनी भन्छन्, ‘अहिले त निको भइसक्यो तर अझै पनि हामीलाई सङ्क्रमित नै छ भन्ने दृष्टिले हेरिन्छ।’

‘सुरुमा आफूमा कुनै लक्षण थिएन, नगरपालिकाबाट सङ्क्रमित भयो भनेर खबर आउँदा पत्यार नै लागेन। सङ्क्रमित भएको सुन्नेबित्तिकै टाढा बसें, तर अब निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन,’ उनी भन्छन्।

सबै सखाप बनायो, सबैलार्ई रोग सारेर गयो भनेर अनेक लाञ्छनायुक्त प्रहार समाजबाट खेपिरहनुपरेको बताउँछन्, घोडाघोडी नगरपालिका–११ का अर्का कोरोनाबाट मुक्त व्यक्ति। उनलाई सङ्क्रमित भएको पुष्टि हुनुअघि नै परिवारका सबै सदस्य क्वारेन्टिनमा थिए।

सङ्क्रमित भएको पुष्टि हुनासाथ समाजले परिवारका सदस्यलार्ई हेर्ने नजर नै बदलिएको सुनाउँछन्, उनी। भन्छन्, ‘उनीहरूमाथि अपराधीको जस्तो व्यवहार गरियो।’

गाउँ समाजले रोग लिएर आयो, गाउँभरि सारेर गयो भनेर आरोप लगाए पनि कोरोनालाई जितिसक्दा आफूले विशेष सतर्कता अपनाएको उनी बताउँछन्।

आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार, आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण सर्न नपाएको उनको भनाइ छ। भन्छन्, ‘हामी पनि रोग सर्न दिनुहुन्न भन्ने कुरामा सचेत छौं, तर त्यो रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या भइरहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .