ad ad

समाज


बंगालमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र नेपाल नजिकिने क्रम जारी

बंगालमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र नेपाल नजिकिने क्रम जारी

नेपालखबर
असोज २७, २०७७ मंगलबार १:५४,

भारत बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र पश्चिम-उत्तरतर्फ अगाडि बढिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (डिप्रेसन) छ। त्याे अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने देखिन्छ।

मौसमविद्का अनुसार यो भनेको पूर्वबाट नेपालतर्फ नजिकिनु हो।

तर पनि अहिलेसम्मको अध्ययनले नेपालमा यसको असर खासै पर्ने नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।

‘यसको हल्का जलवाष्प मात्र नेपालमा आइरहेको छ,’ मंगलबार बिहान नेपालखबरसँग भने, ‘यसले खासै असर पार्ने देखिएको छैन।’

तर पनि यसले कुन दिशा लिन्छ र कस्तो असर पार्छ भन्ने सम्भावना भने बाँकी नै रहेकाले अध्ययन जारी राखिएको उनले बताए।

मौसमविद् पौडेलका अनुसार निम्न चापीय क्षेत्र (डिप्रेसन) भनेकाे चक्रवात (सामुद्रिक आँधी) काे रूप लिनुभन्दा दुई तहमुनिकाे अवस्था हाे। याे प्रणाली शक्तिशाली बन्ने क्रम जारी रहेकाले यसले भारतकै मध्य क्षेत्रमा भने ठूलाे वर्षा गराउने सम्भावना छ। तर सबै डिप्रेसन चक्रवातमा परिणत हुँदैनन्।

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालकाे पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा थोरै बादल) भएको छ भने अन्य स्थानमा सामान्ततया मौसम सफा छ। 

आगामी तीन दिन अर्थात् बिहीबारसम्म मौसम कस्तो रहला?

यस्तो छ महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन :

असोज २ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

असोज २ गते (बुधबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २ गते (बिहीबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागका हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .