ad ad

समाज


दुर्लभ खगोलीय घटना: गए राति पृथ्वी र मंगल ग्रह भए आमने सामने

दुर्लभ खगोलीय घटना: गए राति पृथ्वी र मंगल ग्रह भए आमने सामने

नेपालखबर
असोज २८, २०७७ बुधबार ०:५४,

गए राति मंगल ग्रह निकै चम्किलो देखिएको छ। पृथ्वी र मंगल ग्रह आमने सामाने भएका कारण यस्तो अवस्था सिर्जना भएको खगोलविद्हरुले बताएका छन्।

यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ। अमेरिकी अन्तरीक्ष निकाय नासाका अनुसार अब सन् २०२२ को डिसेम्बर ८ मा मात्रै पृथ्वी र मंगल ग्रह यसरी आमने सामने हुनेछन्।

काठमाडौंस्थित नेपाल एस्ट्रोनोमिकल सोसाईटी(नासो) की कार्यक्रम संयोजक मनिषा द्‌वाले अरु बेलाभन्दा गए राति मंगल ग्रह निकै चम्किलो देखिएको बताइन्। ‘मंगल ग्रह पृथ्वीबाट यतिको नजिक अब सन् २०३५ मा मात्रै आउँछ,’ उनले भनिन्।

वैज्ञानिकहरु पृथ्वी र मंगल ग्रह यसरी आमने सामने हुनुलाई दुर्लभ खगोलीय घटना मान्छन्। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुने गर्छन्।

यसको अर्थ यी तीनवटा ग्रह १८० डिग्री कोणमा रहनेछन्। पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्।

खासगरी बृहस्पतिको गुरुत्वाकर्षण शक्तिले मंगल ग्रहको परिक्रमा कक्षलाई प्रभाव पार्ने गर्छ।

सन् २००३ मा मंगल ग्रह र पृथ्वी ३४.८ मिलियन माइलको दुरीमा थिए, जुन ५९,६१९ वर्षमै सबैभन्दा नजिकको दुरी मानिएको छ। अब वर्ष २२८७ सम्म मंगल ग्रह पृथ्वीको यति नजिक आउनेवाला छैन।

गत सन् २०१८ को जुलाई ३१ मा पनि मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो ।

पृथ्वीको जस्तै मंगल ग्रहमा उत्तर र दक्षिणी ध्रुव छ, जुन बरफले ढाकिएको छ । यहाँको न्यूनतम तापक्रम माइनस १४० डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरु बताउँछन्।

मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ।

मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ। यसको सतहमा ठूलो मात्रामा आइरन अक्साइड रहेकाले यसको रङ रातो देखिएको हो। मंगल ग्रह सौर्य मण्डलको दोस्रो सबैभन्दा सानो ग्रह हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .