ad ad

समाज


सिसडोलबासीलाई आश्वस्त पार्ने महानगरको प्रयास

सिसडोलबासीलाई आश्वस्त पार्ने महानगरको प्रयास

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १३:०,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोलबासीका समस्या सम्बोधन गर्ने आश्वासन दिएका छन्।

उपत्यकाबाट उत्पादन हुने घरेलु फोहोर व्यवस्थापन गर्न एकीकृत कोष सञ्चालनको सोचमा महानगर रहेको भन्दै उनले बताए। सिसडोलबासीका मागलाई संवेदनशील भएर सम्बोधन गरिनुपर्ने बताए।

शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘समस्या समाधानका लागि सुझाव शिफारिस गर्न गठित कार्यदल’ ले दिएको प्रतिवेदनमाथि छलफल गर्न र सुझावलाई कार्यान्वयनमा लैजान सरोकारवालालाई डाकेर छलफल गरिएको हो।
‘फोहोर, उत्पादनदेखि व्यवस्थापनका हरेक सृङ्खलामा समस्या छन्। त्यसबाट सबै कुनै न कुनै प्रकारको समइमा छन्। महानगरलाई पनि समस्या छ। तर महानगर समस्या छ भनेर पछि हट्दैन।’ मेयर शाक्यले भने ‘उपत्यकाका सबै नगर र साझेदारको अगुवाई गर्दै फोहोरको दिगो समाधान गर्ने दिशामा महानगरले नेतृत्व गर्छ।’

सिसडोल ल्याण्डफिल्ड साइटको आयु सकिएर बञ्चरेडाँडा जाँदा सिसडोल त्यत्तिकै छोडेर अलपत्र पार्ने हुन् कि भन्ने स्थानीयमा चिन्ता छ। त्यो चिन्ता र फोहोरका कारण महसुस गरेको पीडा भुलेर स्थानीय सहयोग गर्न जुटेका भन्दै उनले सबै मिलेर फोहोर व्यवस्थापनलाई दिगो बनाउनुपर्ने बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले फोहोर व्यवस्थापन महानगर एक्लैले गर्न नसक्ने बताए। ‘महानगरले नेतृत्व गर्ने हो, सहयोग सबैले गर्नुपर्छ’ उनले भने। साइटको पूर्वाधारसँगै स्थानीयले उठाएका मागका बिषयमा सम्बद्ध पक्ष समयमै जिम्मेवार भइदिएको भए, आजको दिन नआउने न्यौपानेको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सहसचिव डिल्लीराम शर्मा, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी सहभागी थिए। त्यस्तै, सडक बिभाग, कृषि तथा पशुपक्षी बिकास मन्त्रालय, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु सहभागी रहेका थिए।

उपत्यकाको फोहोरको अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोलको क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार भइ नसकेको जनाउँदै स्थानीयले अतिप्रभावित क्षेत्रका स्थानीयको जग्गा अधिग्रहण गर्नु पर्ने वा लिजमा लिनु पर्ने माग उठिरहेको छ। यो माग पूरा नभएको जनाउँदै स्थानीय गएको मध्य असारमा फोहोर व्यवस्थापन कार्यमा अबरोध गरेका थिए।

उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न गएको असार १५ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको संयोजकत्वमा प्रभावित क्षेत्रका स्थानीयसँग बैठक बस्यो । बैठकले समस्याको दिगो समाधान के काम गर्दा प्राप्त हुन्छ, सुझाव दिन महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको थियो। समितिको सदस्यमा ककनी गाउँपालिकाको वडा १ का अध्यक्ष चन्द्रबहादुर बलामी, वडा २ का अध्यक्ष केदार पौडेल र धुनिबेँसी नगरपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर लामा थिए।

त्यस्तै स्थानीय प्रतिनिधिका रुपमा अर्जुन न्यौपाने, जीतबहादुर बलामी र राजन न्यौपानेलाई राखिएको थियो। ल्याण्डफिल्ड साइटबाट प्रभावित र अतिप्रभावितका समस्यालाई मागका रुपमा उठाउने चक्रमान बलामी, ज्ञानेन्द्रप्रकाश गजुरेल, सन्तराम बलामी र गणेश बलामी समितिको सदस्य थिए। महानगरका तर्फबाट नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटा सदस्य रहनु भएको समितिमा वाताबरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ सदस्य सचिव थिए।

सदस्य सचिव श्रेष्ठका अनुसार समितिले तयार पारेको प्रतिवेदन साउन ५ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिएको थियो। प्रतिवेदनमा १० वटा बुँदामा स्थानीयले उठाएका मागलाई समेटिएको छ भने १४ वटा बुँदामा समस्या समाधानका लागि सुझाव दिइएको छ। यसअन्तर्गत अहिले ३०० मिटरभित्र दिँइदै आएको अन्नबाली ५०० मिटरभित्रका प्रभावितलाई दिन शिफारिस गरिएको छ। त्यस्तै ९०० मिटर दुरीभित्र दिइँदै आएको घर टहरा क्षतिपूर्तिको सीमा बढाएर १५०० मिटर पु-याउन शिफारिस गरिएको छ।

त्यस्तै समितिले सिसडोल व्यवस्थापन कोष स्थापना गरेर महानगरसहित सम्बन्धित स्थानीय तहबाट प्राप्त हुने रकम, सरकारबाट ल्याण्डफिल्ड साइटका लागि छुट्याएको रकम त्यसै कोषमा जम्मा गर्न सुझाएको छ। त्यस्तै बञ्चरे डाँडामा फोहोर पु¥याउनु अघि सिसडोल साइटलाई व्यवस्थित रुपमा बन्द गरेर मात्र बञ्चरे जानसमेत सुझाव दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .