ad ad

समाज


देहरादूनमा विद्यार्थी कुटिएकै स्कुलमा नेपाली शिक्षकद्वारा आत्महत्या

देहरादूनमा विद्यार्थी कुटिएकै स्कुलमा नेपाली शिक्षकद्वारा आत्महत्या

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ११:१५,

भारतको देहरादुनमा नेपाली विद्यार्थीमाथि कुटपिट भएको शाक्य एकेडेमीमा आत्महत्या गरेका शिक्षक समेत नेपाली भएको खुलेको छ।

विद्यार्थीमाथि कुटपिटको घटना सार्वजनिक भएपछि अघिल्लो शनिबार ती शिक्षकले स्कुलको आफ्नै आवसीय कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।

लुआङ लेकपाका नामका ती शिक्षकको घर मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडानम्बर ४ मा रहेको खुलेको हो।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले आत्महत्या गरेका शिक्षक आफ्नै गाउँपालिकाको भएको पुष्टि गरे। उनले मृतक लेकपाका बुबाआमाको अनुरोधमा देहरादूनमै रहेका उनका मामालाई शव बुझ्ने र अत्येष्टि गर्ने गरी सिफारिस पत्र समेत बनाइदिएको बताए।

‘बुबा आमाले देहरादून जान सक्दैनौं। त्यही रहेका आफन्तलाई शव बुझ्नका लागि सिफारिस बनाईदिन आग्रह गरेपछि हामीले सिफारिस पत्र लेखिदिएका हौं,’ गाउँपालिका अध्यक्ष छोम्पेल विष्टले नेपालखबरसँग भने, ‘हामीले सिफारिस बनाईदिएपछि अहिले ती शिक्षकको अन्तेष्टि समेत भइसकेको छ।’

मृतक शिक्षक २८ वर्षको मात्रै भएको र तीनवर्षदेखि देहरादूनमा रहेको विष्टले बताए।

यही कार्तिक १० गते शाक्य एकेडेमीमा अध्ययनरत ४७ नेपाली विधार्थीमाथि दसैं विदामा घर जान निवेदन लिएर आएको भन्दै कुटपिट भएको थियो। उक्त घटनापछि चोटपटक लागेका विधार्थीका तस्बिरहरु सार्वजनिक भएका थिए।

देहरादूनमा रहेका नेपाली प्रतिनिधिहरु घटनाबारे जानकारी लिन पुगेपछि एकेडेमीकी प्रिन्सिपल छिरिङ छोदेनले माफी माग्दै घर जान चाहने विधार्थीलाई घर जान दिने सहमति समेत गरेकी थिएन।

घटनालगत्तै केही विद्यार्थीहरु भागेर नेपाल आएका थिए भने बाँकी विद्यार्थीहरु पनि हाल नेपाल आइसकेका छन।

कतिपयले एकेडेमीका अधिकारीहरुले ती शिक्षकले विद्यार्थीमाथि भएको कुटपिटको फोटोहरु सार्वजनिक गरेका आरोप लगाउँदै उनीमाथि दबाब श्रृजना गरेको आशंका गरेका छन। तर, स्कुल पदाधिकारीहरुले भने उक्त कुरा अस्वीकार गर्दै आएको देहरादूनका स्थानीय पत्रकार चेतन गुरुङले बताए।

उनका अनुसार बालबच्चाहरुलाई अनुशासनमा राख्न नसकेको र आफ्ना कारण गुरुको बदनाम भएको ग्लानीका कारण नेपाली शिक्षकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .