ad ad

समाज


तिहार सकिएलगत्तै भारत जानेको लर्को, सुदूरपश्चिमका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

तिहार सकिएलगत्तै भारत जानेको लर्को, सुदूरपश्चिमका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

गोकुल जोशी
मंसिर ९, २०७७ मंगलबार ८:१५,

कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ।

कोरोनाको महामारी सुरु भएसँगै घर फर्किएहरु स्वदेशमा रोजगारीको केही अवसर नपाएपछि हातमुख जोर्ने समस्या टार्नका लागि महामारीकै बीच भारततिरै पसिरहेका हुन्।

पछिल्लो एक साताको अवधिमा (तिहारको भाइटीकापश्चात्) मात्रै झण्डै १० हजार मानिस रोजगारीका लागि भारत पसेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार  मंसिर २ देखि ८  गतेसम्म गड्डाचौकी नाकाबाट १ हजार ७ सय १३ जना र गौरीफन्टा नाकाबाट ८ हजार १८ जना गरी ९ हजार ७ सय ३१ जना रोजगारीको खोजीमा भारत गएका छन्।

रोजगारीका लागि भारत जाने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मानिसहरुको पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टामा दिनहुँ सयौँको भीड लाग्ने गरेको छ। केही समय अगाडि जसरी स्वदेश फर्कनेहरुको भिड हुन्थ्यो अहिले त्यसैगरी भारत फर्कनेको लर्को लाग्ने गरेको हो।

यी दुई नाकामा आजभोलि झोली–झिम्टासहित लालाबाला बोकेर भारत पसिरहेका मानिसको भिड देखिन्छ। गाउँ–घरमा रोजगारी नपाएपछि परिवार पाल्नकै लागि महामारीकै बेला कामको खोजीमा भारत जानु परेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का हरिभान बोहरा बताउँछन्।

‘भारतमा कोरोना देखापरेपछि घर आएको थिएँ, ६÷७ महिना यत्तिकै बिताएँ, भएभरको पैसा सकियो’, उनले भने, ‘घर खर्च चलाउनै मुस्किल प¥यो, स्वदेशमै रोजगारी नपाउदा कामको खोजीमा भारत जान बाध्य छौँ।’
स्वदेशमै रोजगारी नपाउँदा जीविकोपार्जन गर्न धौ–धौ परेपछि कामको खोजीमा भारत जानु परेको बैतडीको सिगास गाउँपालिकाका तेज धामीले बताए। ‘६÷७ महिना घरमै बिताउँदा पनि सरकारले रोजगारी दिन सकेन। काम नपाएपछि घरखर्च चलाउन गाह्रो भयो’, उनले भने, ‘रोगले भन्दा पनि भोकले मर्ने स्थिति आयो, त्यसैले परिवार पाल्न कालको मुखमा होमिनु पर्ने बाध्यता छ।’
भारतबाट फर्किएका युवा जनशक्तिहरुलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन्। तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ।

‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो। तर, सरकारले सीपमूलक रोजगारी सिर्जना गर्न सकेन। सरकारले केही रणनीतिक योजना नै ल्याएन’, उनले भने, ‘त्यसैले महामारीमा दुखकष्ट खेप्दै पुनः त्यहीँ फर्किन बाध्य भएका छन्।’

५ हजार बढी भित्रिए
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेको भन्दा भित्रिनेको संख्या आधाले कम छ। पछिल्लो एक साताको अवधिमा ५ हजारभन्दा बढी मानिस स्वदेश आएका छन्।
प्रशासनको तथ्यांक अनुसार पछिल्लो एक साताको अवधिमा गड्डाचौकी नाकाबाट २ हजार १ सय ११ जना र गौरीफन्टा नाकाबाट ३ हजार ४ सय २६ जना गरी कूल ५ हजार ५ सय ३७ जना भारतबाट स्वदेश फिर्ता भएका हुन्।

भारतमा कोरोना संक्रमण उत्कर्षमा पुगीरहेका बेला नाकामा बिना स्वास्थ्य परीक्षण निर्वाध रुपमा धमाधम भारतबाट मानिस स्वदेश फिर्ता भइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .