ad ad

समाज


बर्दिबासमा बालिका बलात्कार/हत्या : अभियुक्त अरुण साहविरुद्ध ४ मुद्दा

बर्दिबासमा बालिका बलात्कार/हत्या : अभियुक्त अरुण साहविरुद्ध ४ मुद्दा

शैलेन्द्र महतो
मंसिर १३, २०७७ शनिबार ४:२२,

महोत्तरीको बर्दिबास नगरपालिका-१४ शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको बलात्कार तथा हत्या अभियाेगमा पक्राउ परेका युवकविरुद्ध चार मुद्दा दायर गरिएकाे छ।

सोही बस्तीमा किराना पसल सञ्चालन गर्ने गौशाला नगरपालिका-५ का २६ वर्षीय अरुण साहविरुद्ध बालिकाका परिवारले शुक्रबार किटानी जाहेरी दर्ता गराएकाे हाे। 

अरुणविरुद्ध बर्दिबास इलाका प्रहरी कार्यालयमा अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चपागाई‌ले जानकारी दिए।

गत आइतबार साँझदेखि बेपत्ता बालिका सोमबार मध्यराति बस्तीनजिकै मृत फेला परेकी थिइन्। हत्या गरेर बोरामा हालिएकाे अवस्थामा उनकाे शव भेटिएकाे थियो।

घटनाबारे परिवारले नै जानकारी गराएपछि प्रहरीले साहलाई साेमबार नै पक्राउ गरेको थियाे। हत्या स्वीकार गर्दै उनले घटनास्थल देखाएपछि प्रहरीले बालिकाको शव बरामद गरेको थियो।

आफ्नो पसलमा चकलेट किन्न आएका बेला बालिकालाई आफूले बन्धक बनाएर करणी गरी हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका थिए।

घटनाविरुद्ध स्थानीयले अरुणको किराना पसल भएको तीनतले घरमा आगाे नै लगाएका थिए।

बालिकाको शवसहित गत मंगलबार बर्दिबास चाेकमा प्रदर्शन गरिरहेका बेला प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका-१ का ४३ वर्षीय सञ्जय न्यौपाने घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो।

घटनाविरुद्ध स्थानीयले बुधबार र बिहीबार पनि बर्दिबास बजार तथा पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए। 

स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच चारबुँदे सहमति भएपछि शुक्रबारदेखि बर्दिबासमा प्रदर्शन गर्न छाडिएकाे हाे। साथै गृह मन्त्रालयले दोषीलाई कारबाही गर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएकाे छ। त्यसपछि बर्दिबास बजार र पूर्वपश्चिम राजमार्ग खुलेको हाे। 

अभियुक्त अरुणले यसअघि पनि गत वैशाख २८ गते गौशालाका आफ्नै साथी दिलीप ठाकुरको कुटपिट गरी हत्या गरेका थिए। घटनाकाे ३ दिनपछि पक्राउ परेका उनलाई महोत्तरी जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गराएको थियो।

यहीबीच उनले बालिकाकाे बलात्कार तथा हत्या गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .