ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान सुरु गरेको छ।
सडक छेउमा राखिने पर्चा, पम्प्लेट र होर्डिङ बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान सुरु गरेको हो।
आइतबार एक कार्यक्रम आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गरे। सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताए। कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने स्पष्ट पारे।
यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लागयतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ।
सडक छेउमा रहेका बिजुलीका पोलहरुमा जथाभावि तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने मेयर महर्जनले बताए। उनले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरबासीको सहयोग अनिवार्य रहेको पनि बताए।
प्रतिक्रिया