ad ad

समाज


विमानस्थलबाट जारी छ सुन तस्करी, ५ हजार दिएर श्रमिकलाई गरिन्छ प्रयोग

विमानस्थलबाट जारी छ सुन तस्करी, ५ हजार दिएर श्रमिकलाई गरिन्छ प्रयोग

उजिर कार्की
पुस १०, २०७७ शुक्रबार १३:१३,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करले ठूलो परिणाममा सुन भित्र्याइ रहेको पाइएको छ।

तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किनेलाई सुनका गहना बनाएर लगाइदिने र नेपालमा आइसकेपछि लैजाने गरेका हुन्। मुख्यगरी सिक्री र बाला बनाएर सुन तस्करी हुने गरेको छ।

तस्करले विदेशबाट आउनेलाई ५० ग्राम (करिब सवा चार तोला) सुनका गहना ल्याइदिएवापत ५ हजार रुपैयाँ दिने गरेका छन्।

केही दिनअघि साउदीबाट फर्किएका एक व्यक्तिले उनीसँगै आएको समूहले यसरी सुन ल्याइदिएको र सुन्धाराको होटलमा सुन बुझाएको बताए। उनीहरुले सुन ल्याइदिएवापत ५ हजार रुपैयाँका दरले लिएका छन्।

एक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार शुल्क लाग्दैन। भन्सार शुल्क तिरेर २ सय ग्रामसम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसी बताए।

एक सय ग्रामसम्मका गहनाका ल्याउँदा १० हजार ५ सय र दुई सय ग्रामका गहना ल्याउँदा २२ हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ। यस्तै काँचो सुन एक सय ग्रामसम्म नेपाली नागरिकले भन्सार शुल्क तिरेर ल्याउन पाउँछन्।

काँचो सुन ५० ग्राम ल्याउँदा ९ हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ। सय ग्राम सुन ल्याउँदा २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ।

तर पछिल्लो समय साउदी, युएईलगायत खाडी मुलुकबाट फर्किने नेपाली श्रमिकलाई भरियाको रुपमा तस्करले प्रयोग गरिरहेको पाइएको छ। यसबारे भन्सार कार्यालय पनि जानकार रहेको तर नियमअनुसार पाउने परिणाममा ल्याउँदा कारबाही गर्न सक्ने अवस्था नरहेको केसीले बताए।

यसरी गहना लगाएर आउँदा विमानस्थलमा चेकजाँच भए आफ्नै गहना हो भन्न तस्करहरुले लगाउने गरेका छन्। नेपाल आइसकेपछि उनीहरु बस्ने होटलमा तस्कर समूहका व्यक्ति पुग्ने र गहना ल्याइदिएवापत ५ हजार रुपैयाँ दिने गरेका छन्।

सुन बोकेर आउनेहरुको फोटो र पासपोर्टको फोटोकपी तस्करले राख्ने गरेका छन्। यसरी हुने सुन तस्करीमा ट्राभल एजेन्सीका कर्मचारीको समेत मिलेमतो हुने गरेको पाइएको छ।

विदेशबाट फर्किने श्रमिकबारे ट्राभल एजेन्सीले नै तस्करहरुलाई जानकारी उपलब्ध गराउँछन्। ट्राभल एजेन्सीबाट सम्पर्क नम्बर लिएर गएका तस्कर समूहका व्यक्तिले विमानस्थलसम्म पु¥याइदिने समेत गरेका छन्। काठमाडौंमा बस्ने होटलको जानकारी लिएर श्रमिकलाई भेट्न तस्कर समूहका व्यक्ति होटलमै पुग्ने गरेका छन्।

विमानस्थलमा चेकजाँच गर्दा शंका लागेमा मात्रै सोधपुछ गरिने र नियम अनुसार पाउने परिणाममा ल्याएको खण्डमा केही नगर्ने भन्सार कार्यालयले जनाएको छ।

‘तोकिएको परिणाममा सरकारले नै ल्याउन छुट दिएको छ। त्यस्तो अवस्थामा हामीले केही गर्न सक्दैनौं। त्योभन्दा बढी भए मात्रै कारबाही गर्न पाइयो,’ प्रवक्ता केसीले नेपालखबरसँग भने, ‘कतिपय फ्लाइटमा आउनेले अस्वभाविक रुपमा गहना लाएर आउँछन् तर हामीले केही गर्न सक्दैनौं।’

भन्सार कार्यालयले कानुनी छिद्रको प्रयोग भइरहेको जनाएको छ। विमानस्थल प्रहरीले फर्किने श्रमिकबारे भन्सार कार्यालयले नै चेकजाँच गर्ने गरेको बताए।

यसरी हुने सुन तस्करी रोक्न कानुनी रुपमै सम्बोधन आवश्यक रहेको भन्सार कार्यालयको भनाइ छ। सरकारले काँचो सुन भित्र्याउन नदिन कडाइ गरेपछि तस्कर समूहले नयाँ उपाय अपनाउन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .