ad ad

समाज


कञ्चनपुरमा भारतीयले गोली चलाउनुको कारण अवैध काठ तस्करी, घाइते नरेशका साथीले दिए प्रहरीमा यस्तो बयान

कञ्चनपुरमा भारतीयले गोली चलाउनुको कारण अवैध काठ तस्करी, घाइते नरेशका साथीले दिए प्रहरीमा यस्तो बयान

गोकुल जोशी
पुस २१, २०७७ मंगलबार १२:३७,

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ का १६ वर्षीय नरेश सुनारलाई ‘भारतीय वन रक्षक’ले गोली हानेको खुलेको छ।

दोधारा–चाँदनी नगरपालिका–१ स्थित नेपाल–भारत सीमावर्ती जंगल गडिगोठमा काठ तस्करी गरिरहेका बेला भारतीय पक्षले गोली प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

सोमबार बेलुका सीमावर्ती गडिगोठ जंगलमा काठ तस्करीका गर्न गएका दोधारा–चाँदनी नगरपालिका–१ का तीन जनालाई गोली प्रहार भएको थियो। भारतीय पक्षको गोलीको छर्रा लागेर दोधारा–चाँदनी–१ का सुनार घाइते भएका हुन्।

काठ तस्करीका लागि सुनारसँगै सोही स्थानका २६ वर्षीय दीपक धामी र ३५ वर्षीय बब्लु चन्द पनि गएका थिए। उनीहरुले काठ ल्याउनका लागि जंगल गएको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताए।

‘घाइते नरेशको साथमा गएका साथीहरुले काठ ल्याउनका लागि भारतीय जंगल गएको बयान दिएका छन्। गोली चलेपछि उनीहरु भागेका थिए’, डीएसपी थापाले भने, ‘हामीले उनीहरुसँग सोधपुछ गरेपछि गोली चल्नुको रहस्य खुलेको छ।’

गोलीको छर्रा लागेर घाइते भएका नरेशले यसअघि घरायसी समान लिएर आउने क्रममा गोली प्रहार भएको दाबी गरेका थिए। गोली प्रहारपछि भागेका नरेशका साथीहरुसँग सोधपुछ गर्दा बल्ल रहस्य बाहिरिएको हो।

‘घाइतेले सुरुमा झुठ बोलेका रहेछन्। हामीले उनीसँगै गएका साथीहरुसँग बुझ्दा काठ तस्करीका लागि गएको स्वीकारेका छन्’, डीएसपी थापाले भने, ‘जंगलमा सागुनको रुख पनि काटिएको छ। रुख काट्न प्रयोग भएको आरा रुखमै अड्किएको अवस्थामा भेटिएको छ।’

उनका अनुसार गोली चलाउनेको अझै एकिन पहिचान पनि हुन सकेको छैन्। ‘एसएसबीले आफूहरुको गस्ती नरहेको र त्यहाँ कुनै गोली नचलाएको भनेको छ। भारतीय वन रक्षकले नै गोली चलाएको अनुमान छ’, डीएसपी थापाले भने, ‘त्यतातिर कुरा गर्दैछौँ। विस्तृत विवरण आउने क्रममै छ।’

घाइते सुनारको अहिले महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .