ad ad

समाज


भागरथी हत्या प्रकरण : यसरी पुग्यो प्रहरी हत्यारासम्म

भागरथी हत्या प्रकरण : यसरी पुग्यो प्रहरी हत्यारासम्म

गोकुल जोशी
फागुन ५, २०७७ बुधबार ११:४६,

बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको हत्याको अभियोगमा पक्राउ परेका १७ वर्षीय दिनेश भट्टलाई प्रहरी सार्वजनिक गरेको छ।

दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको बलात्कार र हत्यामा संलग्न भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदीले भागरथीको हत्या दिनेश एक्लैले गरेको पुष्टि भएको बताए।

‘अहिलेसम्म प्राप्त तथ्यका आधारमा दिनेशको संलग्नता देखिन्छ। उनले अपराध पनि स्वीकारेका छन्’, डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप अनुसन्धान गरेपछि सबुत प्रमाणसहित अदालतमा पेश गर्छौँ।’

आरोपी दिनेशमाथि करणी तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको अर्को दिन बेलुका घरनजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो। १२ दिनको अनुसन्धानपछि पुरानो रिसिइबीका कारण भागरथीको उनकै स्कुलको ११ कक्षामा पढ्ने दिनेशले हत्या गरेको खुलेको हो।

प्रहरी दिनेशसम्म यसरी पुग्यो
भागरथीको हत्याको अनुसन्धानमा दिनेश सुरुदेखि नै प्रहरीको निगरानीमा थिए। त्यसको कारण थियो उनीहरुको पारिवारिक पृष्ठभूमि। उनीहरु दुवै छिमेकीसमेत हुन। छिमेकी भए पनि उनीहरुका परिवारबीच राम्रो सम्बन्ध नरहेको बताइएको छ।

प्रहरीका अनुसार अभियुक्त दिनेश २१ माघ बुधबार विद्यालयबाट एक पिरियड छाडेर दिउँसो १ः४५ बजे घर फर्किएका थिए। सनातन धर्म माध्यमिक विद्यालयबाट करिब ५/६ मिनेटको पैदल दूरीमा पर्ने खोचलेक बजारमा ‘हाफटाइम’मा घर आएका अरु दुई साथीसँग दिनेशको भेट भयो।

उनीहरुसँग खोचलेकमै भागरथी पनि भेटिइन्। उनले उनीहरुसँग घर कतिबेला जाने भनेर सोधिन्। दिनेशका साथीले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी हिँडेको प्रहरीले बताएको छ।

साथीहरु कपाल काट्न सैलुनतिर लागेपछि दिनेश भने भागरथीलाई पछ्याउन लागे। प्रहरीका अनुसार भागरथीलाई मार्ने उद्देश्यका साथ पछ्याउँदै जाँदा दिनेशको भागरथीसँग सिल्ला गाउँमा भेट भएको थियो।

त्यहाँबाट भागरथीलाई उछिनेर अगाडि लागेका दिनेश लबलेक सामुदायिक वनको सडक (घटनास्थल)मा कुरेर बसे। त्यसपछि भागरथी आउनासाथ उनले सडकबाट तल धकेलेर घाइते बनाइ घाँटी थिचेर हत्या गरेको डीआईजी सुवेदीले बताए।

याे पनि : दिनेश भट्टलाई सार्वजनिक गर्दै प्रहरीले भन्यो : भागरथीको हत्या उनैले गरेका हुन्

‘भागरथीको हत्या गर्ने उद्धेश्यले कुरेर बसेका दिनेशले भागरथी आउनेबित्तिक्कै सडकबाट तल धकेले र त्यसपछि घाइते भएकी उनको दुवै हातले घाँटी अठ्याइ हत्या गरेको स्वीकारेका छन्’, डीआईजी सुवेदीले भने।

दिनेशले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पुरै कक्षा पढेर आएको जस्ता झुटो अभिव्यक्ति दिएका थिए। दिनेशको गतिविधि तथा उनको र साथीहरुको बयान बाँझिएपछि प्रहरीको अनुसन्धान उनीमाथि केन्द्रित भएको थियो। त्यसपछि प्रहरी नियमित उनीमाथि सोधपुछ गर्न थाल्यो र अन्ततः मंगलबार राति उनले अपराध स्वीकारे।

घटनापश्चात् दिनेशले भागरथीको मोबाइलको ब्याट्री निकालेर फालेर घर गएका थिए। घटनाको दिन करिब साढे ३ बजेको समयमा लबलेक सामुदायिक वनको बाटो गइरहेको अवस्थामा दिनेशलाई देख्ने प्रत्यक्षदर्शी पनि रहेको प्रहरीले जनाएको छ।

‘अभियुक्तले अपराध स्वीकारेका छन्। उनको शरीरमा पनि चोट लागेको देखिन्छ। उनलाई देख्ने प्रत्यक्षदर्शी पनि छन्। अनि उनको लोकेसन पनि त्यहीँ देखिएको छ’ डीआईजी सुवेदीले भने, ‘प्रयोगशालामा पठाइएका प्रमाणको रिपोर्ट पनि आउनेक्रम जारी छ। अन्य विषयमा पनि थप अनुसन्धान भइरहेको छ।’

अनुसन्धान टोली सम्मानित
भागरथी हत्या प्रकरणमा प्रहरी दोषी पहिचान गर्न सफल भएको भन्दै स्थानीयले अनुसन्धान टोलीलाई सम्मान गरेको छन्।

सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डेय, सीआईबीका डीएसपी पञ्चकुमार बाँखु, बैतडी प्रहरीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायतको अनुसन्धान टिमलाई स्थानीयले बुधबार खोचलेकमा सम्मान गरेका हुन्।

अनुसन्धानमा संवेदनशील भएर दोषी पहिचान गर्न सफल भएकोमा अनुसन्धान टोलीलाई फूलमाला लगाएर सम्मान गरिएको दोगडाकेदार गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रदेव जोशीले बताए।

याे पनि : भागरथी हत्याकाण्डमा पक्राउ परेका किशोर भन्छन् : उनका बुबाले पनि मेरा आफन्तलाई बलात्कार गरेका थिए

साढे दुई वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनासँग दाँजेर हेरिएको भागरथी प्रकरणमा प्रहरीले उच्च संवेदनशीलता देखायो र सफलता हात प्राप्त गर्न सफल भएको हो।

निर्मला बलात्कार तथा हत्या प्रकरणमा सुरुवाती चरणमा भएको त्रुटिले अहिलेसम्म अपराधी पहिचान हुन सकेको छैन। कञ्चनपुरको निर्मला प्रकरणबाट पाठ सिकेको प्रहरीले भागरथी प्रकरणमा कुनै त्रुटि नहोस् भनेर अनुसन्धानका लागि उच्च प्रहरी अधिकारी बैतडी खटाएको थियो।

२२ माघमा अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी सम्मिलित ४ सदस्यीय प्रहरी टोली बैतडी पठाएको थियो।

यस्तै २५ माघमा अनुसन्धानमा सघाउन तथा अनुसन्धान टोलीलाई निर्देशित गर्न सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडी गएका थिए। उनी १० दिनदेखि भागरथीको हत्या भएको ठाउँ नजिकैको स्थानीय खोचलेक प्रहरी चौकीमा बसेर अनुसन्धान टोलीलाई निर्देशन तथा अनुसन्धान प्रगति जानकारी लिइरहेको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .