शारीरिक अपांगता भएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूरमा संखुवासभा जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ।
संखुवासभा जिल्ला अदालत चैनपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसूर ठहर गर्दै आठ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार कविराज राउतले जानकारी दिए।
सोही फैसलाबाट पीडित बालिकाले पाउने गरी क्षतिपूर्ति बापत रु ५० हजार कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राउतले जानकारी दिए।
शेर्पाले गत मंसिर १८ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। पीडितका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खाँदबारीमा गत मंसिर २० गते गरिएको थियो। शेर्पालाई प्रहरीले कात्तिक २३ गते जिल्ला अदालत चैनपुरमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो। रासस
प्रतिक्रिया