सुनसरीको बर्जु–१ मा रिसइवी साँध्न एक महिलाले सुपारी दिएर डकैती गर्न लगाएको खुलेको छ।
योजनाकारसहित डाँका समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो।
पक्राउ पर्नेमा सुनसरी बर्जु १ की ३६ वर्षीया सृजना चौधरी, ईटहरी १३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मिया र सुनसरी दुहबी–११ का ३० वर्षीय सर्वन उराव रहेका छन्।
यो समूहले गत फागुन ६ गते सुनसरी बर्जु १ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायत उनको परिवारलाई कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ।
पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिसइवी साँध्ने सोच बनाई यो समूहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६केएफ लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनीहरु उपर थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया