ad ad

समाज


नेपालमा निषेधाज्ञा, नाकामा बेवास्ता

नेपालमा निषेधाज्ञा, नाकामा बेवास्ता

गोकुल जोशी
बैशाख २४, २०७८ शुक्रबार ३:४५,

सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमै तीव्र रूपमा फैलिँदै गएको छ। भारतबाट फर्किने नागरिकलाई सीमानाकामा परीक्षणै नगरी पठाउँदा संक्रमण गाउँ–गाउँसम्म पुगेको हो।

अहिले सुदूरपश्चिमका विभिन्न नाका भएर भारतबाट स्वदेश फर्किनेको ओइरो लागेको छ। कोरोना महामारीको दोस्रो लहर भयावह रूपमा फैलिएको भारतका महाराष्ट्र, दिल्ली, पन्जाब, गुजरात, देहेरादुनलगायत ठाउँबाट आउने अधिकतर नेपालीमा संक्रमण पाइएको छ।

तर नाकामा चेकजाँच फितलो हुँदा कोरोना भाइरस गाउँ–गाउँमा पुगेको चिकित्सक बताउँछन्।

एन्टिजेन परीक्षण गर्ने किट अभावमा स्वास्थ्य परीक्षण नगरी पठाउनुपर्ने बाध्यता रहेको गड्डाचौकीस्थित हेल्थ डेस्कका प्रमुख आकाश बारुडीले गुनासो गरे।

‘अहिले हामीले कञ्चनपुरका मानिसको मात्रै परीक्षण गर्ने गरेका छौं। यत्तिका लागि पनि परीक्षण किट पुग्दो छैन,’ नेपालखबरसँग उनले भने, ‘माग गरेअनुसार किट पाइँदैन। अरू जिल्लाका मानिसलाई होल्डिङ सेन्टरमा राखेर सीधै गन्तव्यतिर पठाउँछौं। उहाँहरूको उतै परीक्षण हुन्छ।’

उनका अनुसार गड्डाचौकी नाकाबाट दैनिक ७/८ सय मानिस स्वदेश फर्किरहेका छन्। तीमध्ये अधिकतर सुदूरपश्चिम प्रदेशका हुन्।

उता क्वारेन्टिन, आइसोलेसन निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, संक्रमण फैलिन नदिन कन्टयाक्ट ट्रेसिङमा जुट्नुपर्ने स्थानीय तहहरू महामारीका बेला सुस्त देखिएका छन्।

महामारी रोकथामका लागि पालिकाहरू सक्रिय नभएका कारण भारत तथा नेपालकै अन्य जिल्लाबाट आउनेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा जाँदा समुदायस्तरमा संक्रमण फैलिएको हो।

भारतबाट आएकाहरूलाई होम क्वारेन्टिनमा बसाउने गरिएको बझाङको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए।

‘अन्यत्र ठाउँमा क्वारेन्टिन छैन। हाल होम क्वारेन्टिनमै बस्नु भनेर घर जान दिन्छौं,’ उनले नेपालखबरसँग भने, ‘स्वास्थ्य परीक्षण त गर्ने हो, तर किट पाइएको छैन।’

भारत तथा अन्यत्र ठाउँबाट आएकाहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने भए पनि सीधै गाउँ–घरमा पठाउँदा संक्रमण समुदायस्तरमै तीव्र बन्दै गएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमर बताउँछन्।

‘नाकामै स्वास्थ्य परीक्षण गर्नुर्थ्यो। त्यो गर्न सकिएको छैन,’ उनले भने, ‘न त क्वारेन्टिनमै राखिएको छ। यसरी सोझै समुदायको सम्पर्कमा जाँदा संक्रमण फैलिँदै गएको हो।’

होम क्वारेन्टिनको नाममा सीधै घर पठाइएकाहरूको निगरानी नगरिएको पाइएको छ। भारतबाट आएकाहरूलाई स्वास्थ्य परीक्षणै नगरी सोझै गाउँ पठाउँदा संक्रमण ‘भुसको आगो’जसरी फैलिएको चिकित्सकहरूको विश्लेषण छ।

स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार प्रदेशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ३ छ। सबैभन्दा बढी कैलालीमा १ हजार ७ सय ३० जना सक्रिय संक्रमित छन्।

यस्तै कञ्चनपुरमा ५ सय २६, बैतडीमा ३ सय ४५, डोटीमा २ सय ६१, डडेल्धुरामा २ सय ३५, अछाममा १ सय ४५, बझाङमा १ सय ३९ तथा बाजुरा र दार्चुलामा पाँच/पाँच जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .