ad ad

समाज


गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश

गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश

नेपालखबर
असोज १४, २०७६ मंगलबार १५:४,

नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। समितिका संयोजक अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई हस्तान्तरण गरेका हुन्।

समितिले गरेको स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट सङ्कलित तथ्य र विवरणका आधारमा तयार गरेको २८७ पृष्ठको प्रतिवेदनमा कान्जी हाउसमा रहेका र नगरमा छाडा अवस्थामा रहेको गाईगोरुको उचित व्यवस्थापनका लागि सुझावहरुसमेत पेश गरिएको संयोजक आचार्यले जानकारी दिए।

गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० गाईगोरुमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए। घटनापछि गाई–गोरुको अस्वाभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न चौतर्फी दबाब भएपछि उपमहानगरपालिकाले नेपालगञ्ज बारका अध्यक्ष आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालकलगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक आचार्यले जानकारी दिए।

समितिले नेपालगञ्जको कान्जी हाउसबाट सुर्खेत÷दैलेख लैजाने क्रममा ३९ वटा गाईगोरु मृतावस्थामा पाइएको घटनामा सुरक्षित रूपमा पशु ढुवानी मापदण्ड पूरा नगरी ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको स्थलगत अनुगमन र छानबिनका क्रममा उपलब्ध तथ्यहरुले देखाएको उल्लेख गरिएको छ।

छानबिन समितिले गाईगोरुको हत्या नियोजित रुपमा गरेको नभई समयमै अपनाउनुपर्ने सतर्कता नअपनाई लापरवाही गरिएको कारणबाट हुन गएको जनाएको छ। ‘उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई गाईगोरु ढुुवानीका लागि सहजीकरण गरी दिन पत्राचार गरेको देखिन्छ। दैलेखबाट गाईगोरु माग गरिएका कागजात लगायतका प्रमाणको कुनै अध्ययन नै नगरी अनुमति दिएको छानबिनका क्रममा देखिएको छ।

छानबिन टोलीले आगामी दिनमा यस्ता घटना हुन नदिनतर्फ नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पालन गरेका पशुपक्षीहरुको तथ्याङ्क यकिन गर्ने, पशुपक्षी पालन गर्ने व्यक्ति÷संघसंस्थालाई पूर्ण जिम्मेवार बनाउन ट्याकिङ गर्ने, पशु बीमा गर्ने र बेवारिसे छाड्नेलाई नीतिनियम तथा कार्यविधि बनाई लागू गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदन बुझ्दै नगरप्रमुख राणाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको कान्जी हाउसबाट दैलेख पठाउने क्रममा उक्त घटना भएको थियो। उपमहानगरपालिकाले नियतवश घटना भएको अस्वीकार गर्दै आएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .