ad ad

समाज


फेसबुकबाट चिनजान भयो, माया बस्यो, बिहेको दुई महिनामै ज्यान लिए

फेसबुकबाट चिनजान भयो, माया बस्यो, बिहेको दुई महिनामै ज्यान लिए

पत्नीको हत्यामा संलग्न मनोजलाई सार्वजनिक गरिँदै। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १२:०, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम बसेपछि विवाह गरेको दुई महिना नबित्दै एक महिलाले ज्यान गुमाउनु परेको छ।

फेसबुकमार्फत चिनजानपछि गत वैशाख १ गते मात्रै विवाह बन्धनमा बाँधिएका जोडीबीचको झगडाले एकजनाको ज्यान नै गएको हो। 

तनहुँको भानु नगरपालिका-५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका-४ मा बस्ने २१ वर्षीय मनोज विष्टले २२ वर्षीया पत्नी रंगिला भुजेलको हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख एसपी अवदेश विष्टका अनुसार गत जेठ २४ गतेदेखि हराएकी रंगिलाको पतिले नै हत्या गरेकव पु्ष्टि भएको हो।

प्रेमपछि विवाह गरेका यी जोडीबीचको झगडाको कारण रंगिलाले दुईवटा मोबाइल फोनका सिमकार्ड प्रयोग रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

जेठ २४ गतेदेखि बेपत्ता रहेकी रंगिलाको शव प्रहरीले दुर्गन्ध आइसकेको अवस्थामा व्यास नगरपालिका-४ चिहानडाँडास्थित सडकनजिकैको ह्युम पाइपबाट निकालेको हो। 

चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएपछि त्यहाँस्थित सुवर्णमार्गको कच्ची सडकबाट आउने जाने स्थानीयले शव गाडिएको आशंकामा जनप्रतिनिधिलाई खबर गरेका थिए। 

त्यसपछि जनप्रतिनिधिले खबर गरेपछि मंगलबार जिल्ला प्रहरी कार्यालयको टोलीले सुवर्ण मार्गस्थित कच्ची सडकको कुनामा रहेको ढलको पानी कटाउन राखिएको ह्‍युम पाइपबाट रंगिलाको शव निकालेको हो। 

प्रहरीले उत्खनन गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र उनको शव भेटिएको हो। रंगिलाको शव क्षतविक्षत अवस्थामा गल्न थालिसकेको थियो। 

जेठ २४ देखि माइतीको सम्पर्कमा नआएकी रंगिलाको शव उनका बुवाले पहिचान गरेका छन्। १ वैशाखमा भानु नगरपालिका-५ मैबलका २१ वर्षीय मनोजसँग प्रेम विवाह भएपछि उनीहरु ब्यास नगरपालिका–४ स्थित डेरामा बस्ने गरेका थिए। 

प्रहरीका अनुसार आफूलाई थाहै नदिई २ वटा मोबाइल फोनका सिमकार्ड चलाएपछि मनोज श्रीमती रंगिलासँग रिसाएका थिए। 

त्यसपछि त्यही कुरामा झगडा पर्दा मनोजले जेठ २६ गते दिउँसो डेरामा हत्या गरी रंगिलाको शव प्लास्टिकमा पोको पारेर नालीको ह्युम पाइपभित्र हालिदिएका थिए। 

यो प्रकरणमा मनोजलाई व्यास-३ तरकारी लाइनबाट प्रहरीले मंगलबार राति पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालयले बुधबार सार्वजनिक गरिसकेको छ। 

मनोजले प्रहरीसँग पत्नीको हत्या गरेर प्लास्टिकको बोराभित्र हालेर फ्याकेको स्वीकारिसकेका छन्। विष्टलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .