ad ad

समाज


सुन्दरबजारमा घरघरमै पुगेर उपचार सेवा

सुन्दरबजारमा घरघरमै पुगेर उपचार सेवा

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८१ मंगलबार ५:४३, लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको छ एचडिसियस नमूना सामुदायिक अस्पतालले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरू गरेको छ।

प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिइने र यसका लागि सम्बन्धित बिरामीले अस्पताल प्रशासनसँग सम्पर्क गरी समस्याबारे जानकारी टिपाउनुपर्ने व्यवस्था रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए। 

फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गरेर घरमा आराम गरिरहेका, दिर्घ रोगीलाई प्राथमिकतामा राखी यो सेवा सञ्चालन गरिएको हो। 
  

अस्पतालले प्यारामेडिक्स र नर्सिङसहितको टोलीलाई घरघरमा पठाएर विशेष गरी सुगर, ब्लडप्रेसर, ज्वरोसम्बन्धी परीक्षण, ल्याब परीक्षणको लागि नमूना सङ्कलन, औषधि पु¥याउने र स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेको छ। 

यसबापत बिरामीको स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण गरिएको अस्पताल प्रशासनले जनाएको छ। सुरुआती अवस्थामा सुन्दरबजार नगरपालिका वडा नं ६, ७, ८ र ९, भानु नगरपालिका वडा नं ११ मा हाल सेवा प्रदान गरिँदै आएको छ।

यस्तै सुन्दरबजार नगरका वडा नं ७ पाउँदी र वडा नं ९ फुलबारीमा सामुदायिक अस्पतालले हप्ताको १ दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिए। 

अधिकारीकानुसार दोर्दी गाउँपालिकाको नौथर शेरामा टेलिमेडिसिनमार्फत प्रत्येक हप्ताको एक दिन निःशुल्क सेवा अस्पतालले दिँदै आएको छ। 

आकस्मिक तथा सुत्केरी, अस्पतालमै भर्ना हुनुपर्नेबाहेक बिरामीको लागि यो सेवाले सहज बनाएको अस्पतालले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .