ad ad

खेल


सचिन आज राति नेपाल आइपुग्दै, यस्तो छ कार्यक्रम

सचिन आज राति नेपाल आइपुग्दै, यस्तो छ कार्यक्रम

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १५:५,

विश्व क्रिकेटका महान भारतीय खेलाडी सचिन तेन्दुल्कर आज(शुक्रबार) राति नेपाल आउने भएका छन्।

यूनिसेफका सद्भावनादूत समेत रहेका सचिन सद्भावना खेल खेल्न नेपाल आउने भएका हुन्। स्रोतका अनुसार सचिन शुक्रबार राति साढे ९ बजे त्रिभुवन विमानस्थलमा ओर्लिनेछन।

शुक्रबार राति सचिन होटल द्वारिकामा बस्ने कार्यक्रम रहेको छ। शनिबार बिहान उनी त्रिवि क्रिकेट मैदानमा बालअधिकार सम्बन्धि जनचेतना फैलाउने उदेश्यले यूनिसेफले आयोजना गर्ने सद्भावना क्रिकेटमा सहभागी हुनेछन।

उक्त खेल शनिबार १० बजेबाट सुरु हुने भएपनि यूनिसेफले ९ बजेभित्र नै स्टेडियममा प्रवेश गरिसक्नुपर्ने जनाएको छ।

सचिनले नेपालका पूर्वकप्तान तथा प्रशिक्षक विनोद दाससँग त्रिवि क्रिकेट मैदानमा उक्त सद्भभावना म्याच खेल्नेछन। सचिन र विनोदको टिमका अन्य सदस्य भने बालबालिकाहरु हुनेछन।

विनोदले सामाजिक सञ्जालमार्फत सचिनविरुद्ध त्रिवि मैदानमा खेल्न लागेको पुष्टि गरे। उनले क्रिकेट शब्दको समानार्थी व्यक्तिसँग मैदान सेयर गर्न पाउँदा खुशी लागेको व्यक्त गरेका छन्। 

यो पनि: सचिनको आगमनले नेपाली क्रिकेटलाई उर्जा दिनेछ : विनोद दास

‘मलाई यूनिसेफका प्रतिनिधिहरुले ३–४ महिनाअघि नै प्रस्ताव गरेका थिए,’ दासले नेपालखबरसँग कुरा गर्दै भने, ‘मलाई पनि यसबारे विस्तृतमा जानकारी गराइएको छैन। शनिबार बिहान त्रिवि क्रिकेट मैदान आउन भनिएको छ। आशा गरौं मिडियामा आएको जस्तै सचिनसँग त्रिवि मैदानमा भेट हुनेछ।’

‘नेपाल क्रिकेट क्रेजी देश हो। यदि सचिन आएको बेला सही सदुपयोग गर्न सकियो भने क्रिकेटमा नयाँ उर्जा थप्न सकिन्छ। त्यसको पहल हुनुपर्छ,’ दासले नेपालखबरसँग भने।

त्रिवि क्रिकेट मैदानमा म्याच खेलेपछि शनिबार सचिनले धुलिखेलमा रात बिताएर आइतबार विहान सचिन स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ।

जान्नुहोस् सचिनबारे

सचिन भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा कप्तान हुन। विश्व क्रिकेटका इतिहासमा उनी एक महान खेलाडीका रुपमा परिचित छन। अन्तर्राष्ट्रिय क्रिकेटमा उनी सर्वाधिक रन स्कोरर हुन।

सन् १९८९ मा पाकिस्तानविरुद्ध भारतीय टोलीबाट १६ वर्षको उमेरमा डेब्यू गरेका सचिनले त्यसपछि २५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले। एक  सय अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने सचिन एक्ला खेलाडी हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। टेस्ट र ओडिआईमा उनी सर्वाधिक रन स्कोरर समेत हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजार रन पूरा गर्ने सचिन एक्ला खेलाडी हुन्। उनको उचाई केही कम भएकाले उनलाई लिटिल मास्टर ब्लास्टरको नामले पनि चिनिन्छ। भारतले २०११ को क्रिकेट विश्वकप जित्दा सचिन त्यसको सदस्य थिए। ६ वटा विश्वकप खेल्दा उनले जितेको त्योमात्रै एक विश्वकप हो।

२००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भने उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भएका थिए। उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई प्रतिष्ठित अर्जुन अवार्ड, राजिव गान्धी रत्न, पदम श्री, पदम विभुषण, भारत रत्न, बाट सम्मान गरिसकेको छ। सचिन भारतीय संसदको माथिल्लो सदन राज्य सभाको पनि सदस्य रहिसकेका छन।

सन् २०१० मा टाइम म्यागेजिनले सचिनलाई संसारका १०० प्रभावशाली व्यक्तिको सुचिमा समेतेको थियो। २०१२ मा सचिनले ओडिआईबाट सन्न्यास घोषणा गरेका थिए। अर्कोवर्ष उनले मुम्बईको वानखडे स्टेडियममा वेष्ट इण्डिजविरुद्धको खेलमा सबै खाले क्रिकेटबाट विदाई लिए। ६६४ अन्तर्राष्ट्रिय खेल खेलेका सचिनले ३४ हजार ३ सय ५७ रन बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .