ad ad

खेल


नाइट क्लब प्रकरण: विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध, ५० हजार जरिवाना

नाइट क्लब प्रकरण: विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध, ५० हजार जरिवाना

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १४:३८,

एन्फाको अनुशासन समितिले गत कार्तिक ३०  गते फिफा विश्वकप अन्तर्गत कुवेतविरुद्धको खेलअघि राति नाइट क्लब गएर मदिरा सेवन गर्दै अनुशासन विपरित कार्य गरेको भन्दै विमलसहित अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारवाही गरेको हो।

एन्फाले उक्त घटनापछि गरेको अनुसन्धान पछि शुक्रबारदेखि लागु हुने गरि विमल र दिनेशलाई ९० दिनको र अन्जन तथा सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको हो।

यस्तै चारै खेलाडीलाई एन्फाले ५० हजार जरिवाना पनि तिराउने भएको छ।

के भएको थियो?
विश्वकप छनोटको कुवेतविरुद्धको खेल खेल्ने नेपाली टोलीका सदस्यहरुलाई एन्फाले ललितपुरको कुपन्डोलस्थित सांग्रीला ब्लु होटलमा राखेको थियो। कार्तिक ३० गते साँझ करिब साढे ६ बजेतिर विमलसहितका चार खेलाडी मोटरसाइकलमा त्यहाँबाट निस्केका थिए। उनीहरुको मोटलसाइकल ठमेल तिर हुँइकियो। त्यसपछि उनीहरु झण्डै ५–६ घण्टासम्म हराए, होटल फर्किएनन।

‘भोलिपल्ट विदाई कार्यक्रम थियो। तर, मुख्य खेलाडीहरु नै राति अबेरसम्म गायव हुँदा टोलीका अन्य सदस्यहरु पनि आश्चर्यमा परेका थिए,’ एक राष्ट्रिय खेलाडीले नेपालखबरसँग भने, ‘भोलिपल्ट उनीहरुलाई टोलीबाट बर्खास्त गरिएपछि सबै घटना बाहिर आयो।’

भोलिपल्ट बिहान नेपाली टिमको विदाई कार्यक्रमा पुगेका चार खेलाडीहरुको फरक हाउभाउले नेपाली मुख्य प्रशिक्षक योहान कालिनको ध्यान खिच्यो। उनीहरुको अनुहारमा चोट थियो। रक्सीको गन्ध आइरहेको थियो। अपुरो निद्राको छनक समेत पाएपछि कालिनले ती खेलाडीलाई बोलाएर सोधपुछ गरे। त्यसपछि अघिल्लो रातको घटना खेलाडी स्वयमले स्वीकारे।

प्रशिक्षक योहान कालिनले अघिल्लो रातको घटनाक्रमबारे बताएपछि एन्फाका महासचिव इन्द्रमान तुलाधार, कार्यवाहक अध्यक्ष पंकज नेम्बाङ तथा उपाध्यक्ष कृष्ण थापाले विदाईअघि सबै खेलाडीलाई अलग–अलग राखेर शुक्रबार रातिको घटनाबारे जानकारी लिएका थिए।

उक्त सोधपुछमा खेलाडीहरुले आफ्नो बचाउमा पदाधिकारीहरुसँग रातभरि ठमेलमा घुमेको स्वीकार्दै मोटरसाइकल दुर्घटनामा चोट लागेको बताएका थिए। लगत्तै तत्काल एन्फाले ती खेलाडीलाई टोलीबाट हटाएर अनुसन्धान थालेको थियो।

विमल र अन्जनले यसअघि पनि मापसे सेवन गरि एन्फा एकेडेमीमा होहल्ला गरेका थिए। सीसीटिभीबाट त्यो पुष्टि भएपछि उनीहरुलाई त्यसबेला एन्फाले सचेतमात्रै गराएको थियो।

यो पनि: चार खेलाडी टिमबाट फालिएको त्यो अन्तिम घण्टा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .