ad ad

खेल


पारसको चितवन बन्यो पीपीएल च्याम्पियन

पारसको चितवन बन्यो पीपीएल च्याम्पियन

नेपालखबर
पुस १२, २०७६ शनिबार ९:२४,

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले २७ लाख हात पारेको हो। उपविजेता विराटनगरले १० लाख पायो।

चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो।

सन्नी पटेलले दोस्रो ओभरको पहिलो बलमै सुनिल धमलालाई बोल्ड पार्दै चितवनलाई पहिलो सफलता दिलाए। धमलाले ४ बलमा एक चौकासहित ४ रनमात्रै जोड्न सकेँ। यस्तै करण केस्ीको अर्को ओभरको पहिलो बलमा लोकश बमलाई विराटनगरले गुमायो।

स्ट्रेटमा बाबर हायातले उत्कृष्ट क्याच समात्दै लोकेश(१)लाई पवेलियन फर्काए। यस्तै तेस्रो विकेटका लागि मोहम्मद जाइद आलम र नोमन खानले ५३ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्स अघि बढाए। दशौं ओभरमा नोमनलाई आरिफ सेखले रनआउट पारे। नोमनले १८ बलमा ४ चौकासहित १८ रन जोडे।

पन्ध्रौं ओभरमा रोहन मुस्तफाले अर्धशतक प्रहार गरेका जाइद आलमलाई भुवन कार्कीको हातबाट क्याच गराए। आलामले ४८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन जोडे।

सत्रौं ओभरमा रोहन मुस्तफालाई दुई छक्का र एक चौका प्रहार गर्दै पुनित मेहराले हात खोले। अर्को ओभरमा सन्नी पटेललाई चौका र छक्का प्रहार गरे लगत्तै अर्को ठूलो सट खेल्ने प्रयासमा उनी मिडविकेटमा विक्रम सोबको हातबाट क्याच भए। पुनितले १३ बलमा २ चौका र ३ छक्कासहित ३२ रन जोडे।

यस्तै उन्नाइसौं ओभरमा करण केसीले तेस्रो र चौथो बलमा दीलिप नाथ(०) र प्रदीप ऐरीकोे विकेट लिएसँगै खेलमा औपचारिकतामात्रै बाँकी रहेको थियो। प्रदीपले २५ बलमा ३ चौका र एक छक्का प्रहार गरे।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो।

कप्तान पारस खड्का आक्रामक सुरुआत दिलाउने उदेश्यले आफै ओपनिङमा रोहन मुस्तफासँग क्रिजमा आएका थिए। उदेश्यअनुरुप तेस्रो ओभरमा जितेन्द्र मुखियालाई चार चौका र एक छक्का प्रहार गर्दै पारसले चितवनको पारी अघि बढाए।

चौथो ओभरमा किशोर महतोले पारसलाई डिप मिडविकेटमा नोमन खानको हातबाट क्याच गराए। पारसले ११ बलमा चार चौका र एक छक्कासहित २५ रन जोडे। पाँचौं ओभरमा बाबर हायातलाई मोहम्मद जाइद आलामले बोल्ड पारेपछि विराटनगर खेलमा फर्कियो। बाबरले ५ बलमा एक चौकासहित ५ रनमात्रै जोड्न सकेँ।

तेस्रो विकेटका लागि रोहन मुस्तफालाई अनिलकुमार साहले राम्रो साथ दिँदा चितवनले पुनः लय समात्यो। पन्ध्रौं ओभरको पाँचौं बलमा एक रन लिदैँ अनिलले अर्धशतक पूरा गरे। ३३ बलमा उनले ३ चौका र ३ छक्कासहित ५० रन बनाएका थिए।

अर्को ओभरको पहिलो बलमा नै पुनित मेहराले अनिललाई जाइद आलामको हातबाट बाउन्ड्रीमा क्याच गराए। अनिलले ३४ बलमा ५० रनको पारी खेले। त्यसबेला अनिल र रोहनले ६३ बलमा ९५ रनको साझेदारी गरेका थिए।

पुनितको त्यही ओभरमा रोहन मुस्तफाले एक रन लिदैँ आफ्नो अर्धशतक पूरा गरेका थिए। चौथो बलमा मुस्तफालाई मेहराले नै नोमन खानको हातबाट क्याच गराउँदै विराटनगरलाई खेलमा फर्काए। मुस्तफाले ४३ बलमा ३ चौका र एकछक्कासहित ५० रन बनाए।

जाइदले उन्नाइसौं ओभरको पहिलो बलमा आरिफ सेखलाई लगअन क्षेत्रमा जितेन्द्र मुखियाको हातबाट क्याच गराए। आरिफले ११ बलमा एक चौका र दुई छक्कासहित १९ रन जोडे।

अन्तिम ओभरमा करण केसीले २ चौका र २ छक्का प्रहार गरेपछि चितवन २०२ को स्कोरमा पुगेको हो। करणले किशोर महतोको अन्तिम ओभरको पहिलो बलमा छक्का, दोस्रो बलमा चौका, तेस्रो बलमा २ रन, चौथो बलमा छक्का, पाँचौ बलमा २ रन र अन्तिम बलमा चौका प्रहार गरेका थिए।

करण केसी ८ बलमा २६ रन र सन्नी पटेल ८ बलमा १६ रन प्रहार गर्दै नटआउट रहे। विराटनगरका पुनित मेहरा र मोहम्मद जाइद आलमले समान २–२ र किशोर महतोले एक विकेट लिए।

प्रतियोगिताका उत्कृष्ट
उत्कृष्ट ब्याट्सम्यानः काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल

 म्यान अफ द सेरिजः चितवन राइनोजका रोसन मुस्ताफा

बेस्ट बलरः चितवन राइनोजका करण केसी

यी ३ खेलाडीले टीभीएसको बाइक पुरस्कार स्वरुप प्राप्त गरे।

यस्तै राइजिङ प्लेयर राइजिङ प्लेयरः धनगढी ब्लुजका अनिल खरेलले ५० हजार पाउँदा  मोस्ट भ्यालुएबल प्लेयरः विराटनगर टाइटन्सका लोकेश बामले १ लाख रुपैयाँ पाए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .