ad ad

खेल


सशस्त्र प्रहरी महानिरीक्षकद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेतालाई सम्मान

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेतालाई सम्मान

नेपालखबर
फागुन ३, २०७९ बुधबार १६:३८, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ३ गते आयोजित समारोहमा सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो। 

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्याउने व्यक्तिरुलाई समेत सम्मान गरेका छन्। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र बंशीराज दाहालले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरे।

गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो स्थान हासिल गरेको थियो।

कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो। 

उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढि विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउँदै उनले आगामी दिनमा समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरुलाई एक तह बढुवा गर्दै दर्ज्यानी चिन्ह प्रदान गरेको थियो। 


उनले खेलाडीहरुले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिँदै आगामी दिनमा नेपाल एपीएफ क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गरे।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले क्लबमा आवद्ध सम्पूर्ण खेलाडी तथा क्लबलाई सहयोग पुर्याउने संघसंस्था र व्यक्तिहरुप्रति आभार समेत व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .