पहिलो पटक हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कप आउन अब केही दिनमात्रै बाँकी छ।
च्यालेन्ज कपका लागि नेपाली टोली अहिले अन्तिम तयारीमा छ। यो पटक नेपालले समूह चरणमै चिरप्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।
नेपाल र भारतसँगै यो समूहमा बंगलादेश र कीर्गिस्तान छन्। नेपाल बलियो टोलीको चुनौती चिर्दै अन्तिम चारमा स्थान बनाउने योजनामा छ।
नेपालले यसअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनको उपाधि दुई पटक जितिसकेको छ। घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा नेपाल उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा छ।
टोलीकी कप्ता अरुणा शाहीले घरेलु मैदानमा समर्थकको साथमा उपाधि जित्ने लक्ष्यमा नै आफूहरुले तयारी गरिरहेको बताइन्। घरेलु समर्थकको साथमा नेपाली टोली उच्च मनोबलमा खेल्नेछ।
समर्थकको कारण नै कोर्टमा आफूहरुमा उत्साह भरिने टोलीकी कप्तान अरुणा शाही सुनाउँछिन्। नेपालले यसअघि सन् २०१९ मा भएको तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा पहिलो पटक भारतलाई एक सेट हराएको थियो। त्यो नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।
च्यालेन्जकपका लागि नेपाली टोली करिब ३ महिनादेखि प्रशिक्षणमा व्यस्त छ। सुरुवातमा ३१ खेलाडीलाई समेटेर प्रशिक्षण सुरु गरेको नेपाली टोलीमा १४ खेलाडी प्रशिक्षणमा व्यस्त छन्।
च्यालेन्ज कप खेल्ने टोलीमा भरपर्दी खेलाडी स्पाइकर प्रतिभा माली छैनन्। चोटका कारण शल्यक्रियापछि प्रतिभा अहिले आराम गरिरहेकी छन्। प्रतिभाको अभाव टोलीमा खड्किने भए पनि टोलीका सबै सदस्यले अहिले मिहिनेत गरिरहेका छन्।
यो पटकको नेपाली टोलीमा युवा खेलाडीको वर्चश्व छ। एकै पटक ६ खेलाडीले स्थान बनाउँदा निरुता ठगुन्ना र पुनम चन्दले भने टोलीमा पुनरागमन गरे। आर्मीकी कप्तान कृपा अधिकारी र लिबेरो सरस्वती जैसीले स्थान बनाउन सकेनन्।
कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना विष्ट र सलिना श्रेष्ठ टोलीका पुराना अनुहार हुन्।
टोलीमा मिडिल ब्लकर कविता भट्ट, संगम महतो, सेटर प्रगति नाथ, स्पाइकर रिमा कुँवर, पूजा चौधरी र लिवेरो शान्ति कला तामाङ पहिलोपटक टोलीमा परेका छन्।
नेपाली टोली घरेलु दर्शकको साथ लिएर राम्रो नतिजा निकाल्ने दाउमा छ।
‘घरेलु मैदानमा दर्शकको साथ र सहयोगमा खेल्ने योजनामा छौँ’, पहिलो पटक टोलीमा परेकी शान्ति भन्छिन्, ‘केही गर्नुपर्छ भनेर मिहिनेत गरिरहेका छौँ। टोलीमा पर्दा खुसी लागेको छ।, नयाँ कुरा सिक्न पाएका छौँ। टेक्निकल्ली खारिन सके हामी बलियो छौं।’
भारतविरुद्ध अवसर पाए उत्कृष्ट प्रर्दशन गर्नेमा उनी ढुक्क छिन्। एक समय टोलीको कमजोर पक्षका रुपमा रिसिभ र सर्भिसलाई लिइन्थ्यो।
टोली अहिले त्यसलाई नै मजबुत बनाउने तयारीमा छ। यो पटक नेपाली टोलीको रिसिभ र डिफेन्सलाई बलियो पक्षका रुपमा लिइएको छ।
नेपाली टोलीलाई बेल्जियन प्रशिक्षक जान डे ब्रान्टले प्रशिक्षण दिइरहेका छन्। ब्रान्टलाई जगदीशप्रसाद भट्ट, भरत यादव र कोपिला उप्रेतीले साथ दिएका छन्।
च्यालेन्ज कपका लागि नेपाली टोली शारीरिक र मानसिक रुपमा तयार रहेको ब्रान्टले सुनाए।
‘अहिले नै उपाधिका लागिभन्दा पनि खेल अनुसार अघि बढ्ने हो, अहिले एक खेल जित्दै अघि बढ्ने योजनामा छौँ’, उनले भने, ‘पहिला सेमिफाइनमा पुगौँ, त्यसपछि उपाधिबाट एक कदमात्रै टाढा हो।’
च्यालेन्ज कप जेठ ८ गतेदेखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। घरेलु टोलीले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
जेठ ९ गते बंगलादेश र जेठ १० गते भारतसँग खेल्नेछ। समूह ‘बी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान छन्।
नेपाली भलिबल इतिहासमा पहिलो पटक ठूलो प्रतियोगिता हुन लागेको हो। काभा च्यालेन्ज कपपछि नेपालले एसियन गेम्समा स्पर्धा गर्नेछ।
नेपाली टोलीको मुख्य उद्देश्य उपाधि भए पनि समूह चरणमै भारतको चुनौती पार गर्नु ठूलो उपलब्धि हुनेछ।
च्यालेन्ज कपअघि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल नहुँदा त्यसको असर नेपाली टोलीको प्रदर्शनमा पर्न सक्छ।
फोटो, भिडिओ : सरोज नेपाल
प्रतिक्रिया