ad ad

खेल


युवा स्टारको ओलम्पिकमा पदक जित्ने सपना

युवा स्टारको ओलम्पिकमा पदक जित्ने सपना

लक्ष्मी जि.सी
माघ ५, २०७६ आइतबार ८:४८,

नेपाली ब्याडमिन्टनमा चम्केका नयाँ प्रतिभा हुन् प्रिन्स दाहाल। उनी कति क्षमतावान् छन्, छोटो समयमै अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा उनले मारेको छलाङबाट थाहा हुन्छ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले हरेक साता निकाल्ने विश्व वरियताअन्तर्गत उनी दुई साताअघि ३२ औं स्थानमा थिए। अर्को साता १४ र पछिल्लो पटक उनी ११ औं स्थानमा उक्लेका छन्। ब्याडमिन्टनका प्रतिस्पर्धामा गरेको प्रदर्शन र प्राप्त सफलताका लागि दिइने अंकका आधारमा वरियता निर्धारण हुन्छ।

प्रिन्सले जसरी करिअर सुरुवात गरेका छन् त्यसका आधारमा अनुमान गर्न सकिन्छ, उनले नेपाली ब्याडमिन्टनलाई एउटा नयाँ दिशा दिन सक्छन्। ब्याडमिन्टनबाहेक उनको प्राथमिकतामा अहिले केही छैन।

१७ वर्षे प्रिन्स अहिले कक्षा ९ मा अध्ययनरत छन्। खेलसँगै पढाइ पनि आवश्यक छ भन्ने उनलाई थाहा छ। तर, चाहेजस्तो पढाइमा ध्यान दिन सकेका छैनन्। नियमित प्रशिक्षण र बीचबीचमा पर्ने देश विदेशका प्रतियोगिताले पनि उनलाई नियमित अध्ययनलाई बाधा पुर्‍याइरहेको छ।

‘खेलकै लागि बीचमा पढाइ छाडेको थिएँ तर अहिले फेरि सुरु गरेको छु। खेलेर मात्र नहुने रहेछ पढ्न पनि पर्दो रहेछ,’ उनी हाँस्दै भन्छन्।

भिडियो: प्रविन कोइराला 

काभ्रे साँगाको प्रहरी स्कुलमा पढ्दै गरेका उनी खेल्न सहज हुने भनेर ललितपुरको डाँफे स्कुलमा सरेका छन्। तर, ब्याडमिन्टनमा भने उनले लामो यात्राको सपना देखेका छन्।

दाचुर्लामा जन्मिएका प्रिन्सले ब्याडमिन्टन खेल्न लागेको ९ वर्ष भइसक्यो। बुबाबाट प्रभावित भएर खेलमा लागेका उनले ब्याडमिन्टनको प्रशिक्षण भने साँगा पुलिस स्कुलमा पुगेर लिएका हुन्। बिस्तारै ब्याडमिन्टन उनका लागि लत बन्दै गयो। अहिले उनी ब्याडमिन्टनविनाको जीवन कल्पना पनि गर्न सक्दैनन्।

परिवारबाट पनि उनलाई पूर्ण साथ छ। आफ्नै मामा उनका नियमित प्रशिक्षक हुन्। ‘बुबासँग हिँड्दा हिँड्दै मैलेपनि ब्याडमिन्टन खेल्न थालेँ। सुरुमा ममीलाई मैले खेलेको खासै मन पर्दैन थियो। पढ्नुपर्छ भन्ने उहाँको भावना थियो,’ उनी भन्छन्, ‘सायद मैले यो खेल छाड्न सक्दिनँ भन्ने थाहा भएर र मैले अलिअलि सफलता प्राप्त गर्दै जान थालेकोले होला अहिले गाली गर्नहुन्न। सपोर्ट गर्नुहुन्छ।’

जुनियर विश्व वरियताको यो उचाइमा पुग्ने उनी एक्ला नेपाली खेलाडी हुन्। निकै लजालु स्वाभावका प्रिन्सले अन्तर्राष्ट्रिय क्षेत्रमा छलाङ मारिरहेका छन्। 

prince_dahal_1.jpg

सन् २०१८ मा भएको योनेक्स सनराइज तेस्रो खुला राष्ट्रिय च्याम्पियनसिपमा १५ वर्षमुनिको पुरुष एकलमा पहिलो पटक स्वर्ण जितेपछि उनको सफलताको यात्रा अघि बढेको थियो। हरेक प्रतियोगितामा उनले राम्रै स्थान प्राप्त गरेका हुन्छन्।

उनको खास सपना भनेको देशका लागि ओलम्पिक खेल्ने र पदक जित्ने हो। तर, त्यो सहज छैन भन्ने उनलाई पनि थाहा छ। ‘निरन्तर प्रयास गर्दै जान्छु। सन् २०२४ वा २०२८ को ओलम्पिकसम्ममा पदक जित्ने लक्ष्य हो,’ उनी भन्छन्। राष्ट्रिय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गएकाले उनीबाट थप सफलताको आशा गर्न सकिन्छ। उनले आफ्नो उमेरभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

ओलम्पिक सपना अलिक परको भएपनि तत्कालको उनको लक्ष्य वरियताको शीर्षमा उक्लिने हो। त्यहाँ पुग्न आफ्नो प्रदर्शनमा ठूलो सुधार गर्नुपर्ने चुनौती उनीसामु छ। हालै सुदूरपश्चिम अवार्डमा उत्कृष्ट पुरुषतर्फ विजेता बनेका प्रिन्स भन्छन्, ‘अबको लक्ष्य भनेको नम्बर एक हुने हो, त्यसका लागि धेरै मेहनत गर्नुपर्छ। गरिरहेको पनि छु।’

प्रिन्स दाहालले हालसम्म जितेका उपाधि :
१. योनेक्स सनराइज तेस्रो जेष्ठ खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०१८
पुरुष एकल यु–१५ स्वर्ण
मेन्स सिंगल– कास्य
२. योगेक्स सनराइज आठौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०१८
यु–१७ स्वर्ण
३. अन्नपुर्ण पोस्ट अन्तराष्ट्रिय कर्पोरेट ब्याडमिन्टन २०१८
ब्वाइज सिंगल यू–१९– स्वर्ण
मेन्स सिंगल ओपन– रजत
४. दुबई जुनियर अन्तराष्ट्रिय सिरिज २०१८– स्वर्ण
५. साउथ एसिया यू–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिप –२०१८
मेन्स डबल– रजत
मिक्स टिम– रजत
६. प्रेसिडेन्ट कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन २०१९
यु– १५ ब्वाइज सिंगल–स्वर्ण
यु–१९ ब्वाइज सिंगल–स्वर्ण
७. पहिलो दुर्गादेवी दुलाल अन्तर्राष्ट्रिय आमन्त्रित खुला ब्याडमिन्टन प्रतियोगिता २०१९
मेन्स सिगंल ओपन– स्वर्ण
८. १५ औं कृष्ण मोहन स्मृति राष्ट्रियस्तरको खुला ब्याडमिन्टन प्रतियोगिता २०७५
ब्वोइज सिंगल यु–१७ स्वर्ण
मेन्स सिंगल ओपन– रजत
९. आठौं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०१९
मेन्स टिम इभेन्ट– कास्य
मेन्स सिंगल – कास्य
१०. योनेक्स– सिंघा– रोजा– बिटिवाई जुनियर अन्तराष्ट्रिय च्यालेन्ज २०१९ थाइल्यान्ड ब्याङ्कक
यु–१७– रजत
११. दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिज २०१९ यु–१९
स्वर्ण पदक
मिक्स डबल्स– कास्य
१२. साउथ एसिया यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मालदिभ्स–
रजत पदक
१३. दक्षिण एसियाली खेलकुद साग २०१९
टिम इभेन्ट– कास्य
मेन्स डबल्स– कास्य
१४. प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२०
यु–१९ रजत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .