मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा मंगलबार भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग खेल्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले एकअर्काको सम्मान गर्दै खेल्ने बताएका छन्।
‘खेलका लागि तयारी सकियो अब हामी तयार छौं, मछिन्द्रले टोलीमा १० जना फरवार्ड राखेपनि तीन जना नै खेलाउने भन्दै आवश्यक ठाउँमा खेलाउने छौँ,’ मछिन्द्रका प्रशिक्षक किशोर केसीले भने।
विदेशी खेलाडी मेसुकेको कागजी प्रक्रिया नमिलेका कारण ढिलाई भएको केसीले बताए। उनले थपे, ‘हामी उनलाई अन्तिम समयसम्म पर्खने छौं।’
टोलीका कप्तान विशाल श्रेष्ठले भुटानी कलब पारोलाई सहज रुपमा नलिएको बताएका छन्। ‘भुटान लिग च्याम्पियन टोली हो, हामी उसलाई कमजोर मानेका छैनौँ,’ उनले भने।
उता पारोका प्रशिक्षक पुष्पलाल शर्माले मच्छिन्द्र नेपालको च्याम्पियन नभएपनि राम्रो टोली भएको बताएका छन्। उनले भने, ‘मच्छिन्द्र राम्रो टोली हो हामी सकारात्मक नतिजा निकाल्ने लक्ष्यका साथ खेल्नेछौं।’
टोलीका कप्तान किन्ले वाङचुकले अहिले आफुहरुको ध्यान मछिन्द्रसँगमात्र केन्द्रित रहेको बताए। भोलिको खेल हेर्नका लागि साधारणतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ टिकट तोकिएको छ।
यो खेलको विजेताले अगस्टमा १६ मा मोहन बगान सुपर जायन्टविरुद्ध खेल्नेछ।
Shares
प्रतिक्रिया