नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि दौड सुरू भएको छ।
शुक्रबार काठमाडौंमा केन्द्रीय साधारणसभा तथा अधिवेशन उद्घाटन भएसँगै नयाँ नेतृत्वका लागि तयार अनुहारहरू खुल्न थालेका हुन्।
क्यानको अधिवेशनको उद्घाटन सत्र सकिएसँगै नयाँ नेतृत्वबारे आकांक्षबीच छलफल भइरहेको छ। क्यानको नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोसिसको कोणबाट पनि कुरा भइरहेको छ।
अहिलेसम्म अध्यक्ष पदका लागि चतुरबहादुर चन्द र लुम्बिनी प्रदेश क्रिकेट एसोसियसनका उपाध्यक्ष विनय राजभण्डारी दौडमा छन्। चन्द निर्विरोध दोहोरिन चाहन्थे तर शुक्रबार मात्रै उम्मेदवारी घोषणा गरेर राजभण्डारीले उनलाई चुनौती दिएका छन्।
क्यानको उपाध्यक्ष पदका लागि अहिलेसम्म रोहन सिंह मात्रै मैदानमा देखिएका छन्। उनका प्रतिस्पर्धी नदेखिएकाले सर्वसम्मत हुने सम्भावना पनि छ।
उता सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बलिया दाबेदारका रुपमा देखिएका छन्। उनी चन्द प्यानलबाट सचिवमा उठ्ने पक्का भएको छ।
उनलाई क्यानका तत्कालीन कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले चुनौती दिँदैछन्। एनएसएल विवादपछि क्यानबाट बाहिरिएका मल्लको अहिलेसम्म प्यानल टुंगो लागेको छैन।
पारसले चन्द प्यानलबाट उठ्ने पक्का गरिसक्दा उनले राजभण्डारी प्यानलतिर पनि आफूलाई खुलाइसकेका छैनन्।
उता क्यानको कोषाध्यक्ष पदका लागि चन्द प्यानलबाट पदम खड्का मैदानमा देखिएका छन्। तर सकेसम्म सबै पदमा सहमति गराउने प्रयास पनि भइरहेको छ।
क्यानको निर्वाचनमा ८६ जनाले मतदान गर्दैछन्। जसमध्ये जित्नका लागि न्यूनतम् ४४ मत आवश्यक पर्छ।
Shares
प्रतिक्रिया