अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व मैदानबाहिरको खेलमा व्यस्त हुँदा मैदानमा उत्रिने खेलाडी विदेशिने क्रम बढ्दो छ।
विदेशिनेहरुलाई पछ्याउने खेलाडीको सूचीमा थपिएका छन् राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर।
पछिल्लो २ वर्षयता मात्रै राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएकासहित ५० भन्दा बढी फुटबलरले भविष्य खोज्दै अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाइसकेका छन्।
त्यही भीडमा मिसिँदै दशक लामो समय राष्ट्रिय टोलीमा बिताएका विमल शुक्रबार अष्ट्रेलिया लागे। एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।
सन् २०१५ मा विमलकै कप्तानीमा नेपालले पहिलो पटक साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो।
त्यसअघि नेपालमै आयोजना भएको सन् २०१३ को साफ च्याम्पियनसिपपछि विमल चर्चामा आएका थिए। पाकिस्तानविरुद्ध अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएपछि चर्चाको शिखरमा पुगेका थिए।
उतारचढावपूर्ण खेल जीवन बिताएका विमलले युरोपका विभिन्न क्लबमा प्रशिक्षणको मौका पाए। त्यही समयमा व्यक्तिगत जीवनमा पनि उनले संर्घषपूर्ण समय पार गरे। युरोपमा प्रशिक्षणकै समयमा उनले बहिनीलाई गुमाए।
२०७५ भदौ २३ गते साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्धको २–० को जितमा बिमलले गोल गरेका थिए। २०७६ कात्तिकमा उनले म्यानम्यारविरुद्ध खेलेका थिए। म्यानमारसँगको खेलपछि विमल सुरुमा प्रतिबन्ध र त्यसपछि चोटका कारण मैदानबाहिर बसे।
विमलसहित राष्ट्रिय टोलीका चार खेलाडीले अनुशासनको कारवाहीमा पर्दै कुवेतविरुद्धको विश्वकप छनोट गुमाएका थिए।
त्यो समय विमल ९० दिनको प्रतिबन्धमा परे। प्रतिबन्धकै कारण उनले २०७६ पुसमा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद गुमाएका थिए।
कारवाही फुकुवापछि विमल मछिन्द्र क्लबबाट फुटबल मैदान फर्किए। मोफसलको प्रतियोगितामासमेत सहभागिता जनाएका उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि परे।
तर, त्यही समयमा घुँडामा गम्भीर चोट बोक्न पुगे। एन्फाको पहलमा कतार फुटबल संघको सहयोगमा विमलले कतारमा उपचार गराउने मौका पाए। झन्डै ९ महिना कतार बसेर स्वदेश फर्किएका उनी ए डिभिजन क्लब मछिन्द्रमा आवद्ध भए।
गत सिजन पनि मछिन्द्रमा बिताएका विमलले चोटकै कारण तिन साता मैदान बाहिर रहनु परेको थियो।
उतारचढापवपूर्ण खेल यात्रासँगै नेपाल सुपर लिग क्लब ललितपुर सिटी एफसीका मार्कीसमेत रहेका विमल सम्झौता रद्ध गर्दै विदेशिएका हुन्। ललितपुरले यो पटक अनन्त तामाङलाई मार्की खेलाडीको रुपमा घोषणा गरिसकेको छ।
कुनै समय विमललाई हेर्नकै लागि समर्थक मैदानसम्म पुग्ने गर्थे। तर, पछिल्लो समय एन्फा नेतृत्व कुर्सीको खेलमा व्यस्त हुँदा खेलाडीमा ध्यान जान सकेको छैन।
खेलाडीको अवस्था र भविष्यबारे एन्फा बेखबर हुँदा विदेशमा नै खेलाडीले आफ्नो भविष्य खोज्न बाध्य बाध्य भइरहेका छन्।
पछिल्लो समय एन्फा आफैं विवादको भूमरीमा छ। अध्यक्ष पंकज नेम्वाङको कार्यशैलीलाई लिएर उनीविरुद्ध अविश्वास प्रस्तावसमेत पेस भएको थियो।
Shares
प्रतिक्रिया