प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरिने बताएका छन्।
टी–२० विश्वकपमा छनोट भएको तथा तथा अघिल्ला प्रतियोगितामा घोषित पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर रंगशाला बनाउने बचन उनले दिए।
‘सबैभन्दा पहिला तपाईंहरुलाई बधाइ छ। तपाईंहरुले उत्कृष्ट प्रदर्शन गरेर देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ’, उनले भने, ‘१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट भएको छ, विश्वकपमा पनि राम्रो गर्नुहोला। कतिपय बेला जीत र हार हुन्छ। विश्वकपमा तपाईंहरुले राम्रो गर्नुहोला।’
उनले आफूले क्रिकेट हेर्दै आएको पनि खेलाडीहरूसँग बताए।
‘क्रिकेट मैले हेर्दै आएको छु। क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो नेपालको बेस्ट टिम भएको महसुस गरेको छु’, उनले भने, ‘क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ।’
उनले क्रिकेटको क्रेजलाई सरकारलाई पनि हौस्याएको बताए। ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न प्रेरणा मिलेको छ’, उनले भने, ‘खेल देशको प्रतिष्ठा बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।’
उनले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउने तयारी भएको बताए।
‘भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्रै नेपालीको भावनाको सम्बोधन गर्न सकिन्छ’, उनले भने, ‘क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं।’
उनले पुरस्कार वितरणमा ढिला भएकोमा आफूलाई नमिठो लागेको पनि बताए। ‘हामीले घोषणा गरेको पुरस्कार बितरणमा अलिक ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ’, दाहालले भने, ‘केही कानुनी र प्रक्रियागत समस्या छन्। त्यसले पनि ढिलो भयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार सचेत छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिट्टै वितरण गरिनेछ।’
कार्यक्रममा नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेटलाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताए।
‘यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौँ’, उनले भने, ‘कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा धन्यवाद छ। सरकारको पहलप्रति आभारी छौँ। बाँकी रहेका कामहरु पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं।’
Shares
प्रतिक्रिया