थ्रीस्टार क्लबलाई हराउँदै न्यू रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबारको पहिलो खेलमा थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
एनआरटीको जितमा विवेक गुरुङले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफको २९औं मिनेटमा विवेकको फ्रिकीक प्रहार सिधै गोलमा परिणत भएको थियो।
एनआरटीले अब सेमिफाइनलमा केपी ओली एफसी र जावलाखेल युथ क्लब बीचको विजेतासँग खेल्नेछ।
राष्ट्रिय युवा संघको आयोजनमा भएको प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीले भने ५ लाख रुपैयाँ पाउनेछ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
Shares
प्रतिक्रिया