नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोल मेसिन सावित्रा भण्डारी साम्बा वाफ महिला च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेकी छन्।
च्याम्पियनसिपमा ९ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ता बनेकी हुन्। साम्बाले च्याम्पियनसिपमा आफूले खेलेका सबै खेलमा गोल गरेकी थिइन्।
समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ ले हराउँदा साम्बाले १ गोल गरेकी थिइन्। दोस्रो खेलमा इराकलाई ५–० ले हराउँदा सबै गोल साम्बाको नाममा रह्यो।
समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले हराउँदा साम्बाले २ गोल गरिन्। यही खेलमा साम्बाले अन्तर्राष्ट्रिय खेलमा ५० गोलको कोशेढुङ्गा पार गर्दै कीर्तिमान कायम गरेकी थिइन्।
सेमिफाइनलमा लेबनानलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाउँदा साम्बाले १ गोल आफ्नो नाममा गरेकी थिइन्।
लेबनानविरुद्धको गोलले साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। साम्बाले भारतीय स्टार खेलाडी बालादेवीको कीर्तिमान तोड्दै दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा आफूलाई उभ्याएकी छन्।
जोर्डनविरुद्धको फाइनलमा भने साम्बा अनुपस्थित रहिन्। व्यावसायिक लिगका लागि फ्रान्स जानुपर्ने भएपछि साम्बाले फाइनल खेल खेल्न नपाएकी हुन्।
- वाफ वुमन्स च्याम्पियनसिप : साम्बाले फाइनल खेल्ने नखेल्ने अनिश्चित
- वाफ महिला च्याम्पियनसिप : साम्बाले फाइनल नखेल्ने
फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भयो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
Shares
प्रतिक्रिया