पहिलो महिला अन्तर्राष्ट्रिय टोलीका चार खेलाडीले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने भएका छन्।
सन् २००७ मा मलेसियामा भएको एसीसी कप प्रतियोगिता खेलेको टोलीका चार खेलाडीले लिजेन्ड कप खेल्ने भएका हुन्।
आयोजक एक्स्ट्राटेक ओभलले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै लिजेन्ड कपमा सहभागी हुने चार टोलीको जर्सी सार्वजनिक गरेको हो।
सो अवसरमा टी–१० लिगमा महिला टोलीका चार खेलाडीले स्पर्धा गर्ने जानकारी दिएको हो। लिजेन्ड कपमा टोलीकी नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापाले विश्वकप २०१४, नीरा राजोपाध्यायले सन् १९९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्नेछन्।
गत असोज तेस्रो साताबाट पहिलो चरणको कार्य सुरु गरेको मैदानको सोमबार उद्घाटन हुँदैछ।
मैदानमा ३ हजार ट्रिपर माटो हालेर मैदान सम्याउनुका साथै दुबो हालिएको थियो। पिच निर्माणका साथै मैदान हरियो भएपछि तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना गर्न लागिएको हो।
मैदानको दोस्रो चरणको काम अन्तर्गत पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको निर्माणको काम सुरु भइसकेको छ।
अब पहिलो चरणमा दर्शकका लागि ५ हजार क्षमताको प्यारापिट निर्माण कार्य सुरु गरिने छ।
प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्यारापिट गरि अगामी ३ वर्षभित्र यसको निर्माण कार्य सकाउने लक्ष्य राखिएको छर२५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रंगशाला बन्ने छ।
टी १० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्डस ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्डस गरि चार टोलीले स्पर्धा गर्नेछन्।
प्रतिस्पर्धी टोलीहरूः
नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो। यो टोलीका १४ मध्येका १२ खेलाडीले लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप खेल्नेछन्।
नेपालले २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो। त्यस टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा सहभागी हुनेछन्। पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन्। २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन्। सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसंगै हङकङमा छन्।
रेष्ट अफ नेपालमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन मिलाइएको छ। विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन्।
यस्तै हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित नेपालबाट अन्तर्राष्ट्रिय खेलेका खेलाडी मैदान उत्रनेछन्।
टी १० लिगको पहिलो सेमिफाइनलमा लिजेन्ड्स ९६ र विश्वकप २०१४ को टोलीले खेल्नेछन्। दोस्रो सेमिफाइनलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्ससँग खेल्नेछ।
दुई खेलको विजेताले फाइनल खेल्नेछ। लिगको पहिलो खेल १० बजे, दोस्रो खेल १२ बजे र फाइनल खेल २ बजे हुनेछ।
सबै खेल सोमबारे नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ। तिलोत्तमा नगरपालिको वडा नम्बर १७ स्थित पूर्व दरखसवामा रहेको मैदानको उद्घाटनका अवसरमा प्रतियोगिता हुन लागेको हो।
यो मैदान एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुवँर र चिफ अपरेटिङ अफिसर सुदिक्षा गौतमको स्वामित्वमा रहेको छ। मैदान निर्माणको अप्रेसन पक्षको काम सुर्य कुवँरले गरिरहेका छन्। एक्स्ट्राटेक ओभल मैदानको ब्रान्ड एम्बासडरका रुपमा पुर्व राष्ट्रिय खेलाडी शक्ती गौचन रहेका छन्।
टी १० लिगमा सहभागी हुने टोलीः
रुपन्देही लिजेन्ड्स : हरि थापा (कप्तान), अन्तिम थापा, दुर्गा सेन, जवलेश प्रधान, शंकर राना, लालबहादुर अधिकारी, सञ्जीव जोशी, प्रथम पराजुली, सञ्जय श्रेष्ठ, पुनित पोखरेल, सुशनमान श्रेष्ठ, कृष्ण कुवँर, मनोज भण्डारी, धिरज क्षेत्री, नितु थापा,
विश्वकप २०१४ : पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अविनाश कर्ण, शरद भेषावकर, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नवीन घिमिरे, सामसङ जंग थापा, नगेन्द्र भट्टराई, प्रफुल बैध, मनोज कटुवाल, बद्री पंगेनी
रेस्ट अफ नेपाल : विनोद दास (कप्तान), मनोज वैश्य, पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर
लिजेन्ड्स ९६ : एलबी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिष राज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, वसन्त शाही ठकुरी, किरण राणा, मुसरफ इजहार, जगत टमाटा, पुकार पन्त, विशाल गुप्ता, रितेश बराल, नीरा राजोपाध्याय, रिकेश लामा, दीपेश श्रेष्ठ, राजेन महर्जन
Shares
प्रतिक्रिया