इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सीटीले बराबरी गर्दै अंक बाँडेका छन्।
यो सँगै दुबै टोलीले शीर्ष स्थानको आर्सनललाई पछि पार्ने सुन्दर मौका गुमाए।
सीटी र लिभरपुलको बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत छ। आर्सनलको २८ खेलबाट ६४ अंक छ। समान खेलबाट लिभरपुलको ६४ अंक भएपछि गोलअन्तरमा आर्सनलभन्दा पछि परेको हो। उति नै खेल खेलेको सीटीको भने ६३ अंक छ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभर र सिटीले १–१ को बराबरी गर्दै अंक बाँडे। खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलमा सीटीले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी गोलमार्फत पुनरागमन गरेको थियो। खेलको ५० औँ मिनेटमा एलेक्सिस मक्यालिस्टरको पेनाल्टी गोलमा लिभरपुल खेलमा फर्किएको थियो। गोलरक्षक एडर्शनले डार्विन नुनेज माथि फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो।
त्यसपछी खेलमा थप गोल हुन नसक्दा सीटी र लिभरपुलले अंक बाँडेका हुन्।
Shares
प्रतिक्रिया