तल्लो क्रमका ब्याटरको साथ पाउन नसक्दा नेपाल ‘ए’ ले शनिवार आयरल्याण्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेट पनि गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो खेलमा पनि ४० रनको हार व्यहोरेपछि नेपाल ‘ए’ ले एक खेल अगावै पाहुना टोलीसँगको श्रृंखला गुमाएको हो।
तीन खेलको श्रृंखलामा नेपाल ‘ए’ २–० ले पछि परेको हो।
नेपालले लगातार दोस्रो दिन विशाल लक्ष्य सामना गर्यो। उत्कृष्ट सुरुवातका बाबजुद लक्ष्य भेट्टाउन भने सकेन। आयरल्याण्ड ‘ए’ ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमै १८४ रनमा समेटियो।
एक खेल अगावै आयरल्यान्ड ‘ए’ ले जित्यो सिरिज
नेपालले ७.३ ओभरमा नै सय रन जोड्दै बलियो सुरुवात गर्यो। तर सो लय जारी राख्न भने सकेन। ओपनर देव खनालको ४७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले २५ बलमा सात चौका प्रहार गरे।
पहिलो विकेटका लागि देव र लोकेश बमले ४७ रनको साझेदारी गरे। अघिल्लो खेलमा शतक बनाएका लोकश २५ रनमा आउट हुन पुगे। बसिर अहमदले २७ रन, कप्तान विनोद भण्डारीले २६ रन, कमलसिंह ऐरीले ११ र पवन सराफले १० रन जोडे पनि पर्याप्त भएन।
आयरल्याण्ड ‘ए’ को बलिङमा बेन ह्वाइटले तीन, फिओन हान्ड र थोमस मायसले समान दुई विकेट लिए। म्याथ्यु फोस्टर र गारेथ डोलानीले समान एक विकेट लिँदै नेपालको जित रोके।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रनको योगफल बनायो। कप्तान निल रकले नटआउट ७१ रन र पिटर मोरले ६५ रन जोडेपछि आयरल्याण्ड ‘ए’ ले चुनौतीपूर्ण लक्ष्य बनायो। निलले ३४ बलमा सात छक्का र एक चौका हिर्काए।
पिटर मोरले २६ बलमा सात छक्का र तीन चौका हिर्काए। नीलले सातौं विकेटका लागि हान्डसँग ६७ रन र पाँचौं विकेटका लागि मोरसँग ६१ रनको साझेदारी गरे।
जेम्स म्याकोलुमले २६, रोस अदैरले १७ र गेराथ डेलानीले १० रन जोड्दा हान्ड १९ रनमा नटआउट रहे। नेपालको बलिङमा सागर ढकालले तीन विकेट लिँदा कमलसिंह ऐरी र पवन सर्राफले समान एक विकेट निकाले।
शुक्रबार भएको सिरिजको पहिलो खेलमा पनि नेपाल २१ रनले पराजित हुन पुगेको थियो। ओपनर लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ टोली आयरल्यान्ड वुल्भ्ससँग पराजित हुन पुगेको थियो।
शुक्रबारको खेलमा आयरल्यान्डले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको खेपाल १९.३ ओभरमा २ सय १ रन बनाउँदा अलआउट भयो।
सो खेलमा पनि बम र आरिफ शेखले १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए। उनीहरूले नै जितको आधार खडा गरिदिएका थिए।
तर तल्लो क्रममा ब्याटरले नेपालको लगातार विकेट गुमाएपछि नेपाल हार भोग्न बाध्य भएको थियो।
नेपालले सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ।
Shares
प्रतिक्रिया