नेपाली ‘ए’ टोली र आयरल्याण्ड वुल्भ्सविरुद्धको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेपछि सुरु हुनेछ।
यसअघि नै सिरिज गुमाइसकेको नेपाल ‘ए’ टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।
उता नेपाल भ्रमणमा रहेको आयरल्याण्डको टोली भने सिरिज क्लीन स्वीप गर्ने योजनामा छ।
नेपाल ‘ए’ टोली पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।
पहिलो खेलमा आयरल्याण्डले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल तीन बल अगावै २ सय १ रन बनाउँदा अलआउट भएको थियो।
दोस्रो खेलमा २ सय २५ रनको विशाल लक्ष्य पछ्याउँदा नेपाल १ सय ८४ रनमा नै समेटिएको थियो।
टी–२० सिरिजपछि नेपालले आयरल्याण्डको टोलीसँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ। जसका लागि विनोद भण्डारी कै कप्तानीमा टोली घोषणा भैसकेको छ।
759
Shares
प्रतिक्रिया