अमेरिका, स्पेन, वेलायतजस्ता शक्तिशाली देशहरुलाई अप्ठ्यारोमा पारिरहेको कोरोना महामारी फैलिन नदिन नेपाल सरकारले तीन दिनदेखि देश लकडाउन गरेको छ। लकडाउनको अर्थ कोही पनि घरबाट बाहिर ननिस्कनु हो। यतिबेला दुई विषयका सन्देशहरु आइरहेका छन्ः सामाजिक दूरी बनाइराख्न र पटक—पटक साबुनपानीले हात धुन। लकडाउन सुरु गर्नुभन्दा पहिलै नेपालमा खेलसम्बन्धी सबै गतिविधि बन्द छन्। खेल गतिविधि नहुँदा खेलाडी फुर्सदिला छन्।
लकडाउनपछि १३ औं दक्षिण एशियाली खेलकूद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यको दैनिकी पनि फेरिएको छ। खेलका कारण सधैँ घरबाहिर रहने उनी अहिले परिवारसँगै छिन्। श्रीमान् सागका कीर्तिमानी पदक विजेता ओलम्पियन दीपक विष्ट पनि अरु बेला सधैँ व्यस्तै हुन्छन्। दीपक राष्ट्रिय टोलीका प्रशिक्षक समेत हन्। यतिबेला उनीहरु दुवै जना घरमा सँगै छन्।
‘पहिला निकै व्यस्त भइन्थ्यो सागपछि झन् धेरै व्यस्त भएँ। राम्रोसँग परिवारलाई समय दिन नै पाएकी थिइनँ। अहिले बाध्यताले घरमै बसिरहेकी छु। लकडाउनले गर्दा बाबुहरुलाई समय दिन पाएकी छु’, उनी सुनाउँछिन्। आयशा र दीपकका २ छोरा छन्। ठूलो छोरा ७ वर्ष र सानो २ वर्षका भए। २ बच्चाकी आमा भएर पनि खेलमा सक्रिय हुन सकिन्छ भन्ने उदहारण हुन्, आयशा। उनले गत मंसिरमा भएको सागमा तेक्वान्दोको पुम्सेमा २ स्वर्ण पदक जितेकी थिइन्।
भन्छिन्, ‘क्वालिटी टाइम बिताइरहेको छु। व्यस्त हुँदा बाबुहरुका कति धेरै कुरा थाहा पाएकी रहनेछु, अहिले थाहा पाइरहेकी छु। सागको तयारीका लागि सानो बाबुलाई २० महिनाको हुँदा छोडेर गएकी थिएँ। राम्रोसँग बोल्न पनि सक्दैनथ्यो। अहिले धेरै बोल्ने र नाच्ने भएको छ।’
सागमा २ गोल्ड मेडेल जितेर घर फर्किंदा उनको स्थिति केही फरक थियो। छोराहरुलाई तयार पारेर स्कूल पठाउने, त्यसपछि आफू घर बाहिर निस्कने दैनिकी बन्यो। स्कूलमा तेक्वान्दो प्रशिक्षण र आफ्नो अभ्यास गरेर फर्किंदा सधैँ रात पथ्र्यो। त्यो व्यस्तताले परिवारसँग बनेको दूरी अहिले कम भएको छ। ‘यो समय घरको काम गर्ने, सफा गर्ने, खाना पकाउने उनीहरुसँग खेलेर दिन बित्छ’, उनी सुनाउँछिन्, ‘घरको सरसफाई पहिलाभन्दा बढी गर्न पाएकी छु। पहिला खाना बनाएर खाएर निस्की हाल्नुपथ्र्यो। अहिले कुनाकाप्चा हेरेर राम्ररी सफा गर्न पाइएको छ।’
आयशाले पहिलाभन्दा बढी समाचार हेर्न थालेको पनि बताइन्। ‘समाचारहरुले कहिले कहीँ अत्यास पनि लाग्छ। हामी घरमा परिवारसँग छौं’, उनले सहानुभूती देखाउँदै भनिन्, ‘अहिले डाक्टर, नर्सहरुले घरमा समय दिन पाउनु भएको छैन। यो कोरोनाको महामहारीबाट छिट्टै मुक्त भए उहाँहरुको जीवन पनि सामान्य बन्ने थियो। यो समय पक्कै पनि हामी कसैको लागि सहज छैन। जसको सम्भव छ परिवारसँग समय बिताउनुहोस्।’
अहिले आफ्नै दैनिकी फेरिएको महसुस गरेकी आयशाले आफ्ना अभ्यास भने कायमै राखेकी छिन्। भन्छिन्, ‘बाबु जतिबेला निदाउँछ त्यो बेला अभ्यास गर्छु। बाबु प्रायः दिउँसो २ देखि ४ सम्म सुत्छ त्यही बेलामा अभ्यास गर्छु। अविभावकहरुलाई उनको सुझाव छः ४ वर्षभन्दा माथिका बच्चाहरुलाई उनीहरुले सक्ने काम सिकाउनुहोस्। व्यवहारिक ज्ञानको तालिम दिनोस्।’
लकडाउनपछि साथीभाइसँग भेटघाट पनि रोकिएको छ। यो बेलामा साथीहरुसँग कुराकानी गर्ने माध्यम बनेको छ फेसबुक ग्रुप। आयशा, दीपकसहितको तेक्वान्दो खेलका साथीहरुबीच फेसबुक ग्रुप छ। ‘यो बेला साथीहरुसँग भेट्न सकिन्न ग्रुप च्याटमा कुराकानी गर्दा एकै पटक सबैको हालखबर बुझ्न पाइन्छ’, उनी सुनाउँछिन्, ‘आफ्नो सरोकार मिल्नेसँग यस्तो ग्रुप च्याट राम्रै हुन्छ। हामी ग्रुप च्याटमा खेलाडीहरु कसरी सुरक्षित हुने र आफूहरुलाई स्वस्थ र सक्रिय राख्न के गर्नुपर्छ भनेर कुरा गरिरहेका हुन्छौं।’
कोरोना सक्रमण रोक्नका लागि सरकारले गरेको काम राम्रो भए पनि ती पर्याप्त नभएको आयशाको अनुभव छ। ‘लकडाउनमा घर बस्ने, व्यक्तिगत सरसफाई, सामाजिक दुरी बनाउनु भन्ने सरकारको निर्देशन छ। यो ठिकै हो, उनी भन्छिन्, ‘तर यही बेला कतिपय मानिसहरु भारतसँगको सिमानामा अलपत्र परेको सुनिन्छ। खाद्यानको अभाव, औषधि अभाव हुने खतरा बढेको भन्ने कुरा सुनिएको छ। नागरिकको दैनिक जनजीवन सहज बनाउनेमा पनि सरकारले त्यत्तिकै ध्यान दिन जरुरी छ।’
Shares
प्रतिक्रिया