ad ad

खेल


यतिबेला खेलाडीले के गर्ने? नवयुग श्रेष्ठ भन्छन्ः ‘सेल्फ ट्रेनिङ’को विकल्प छैन

यतिबेला खेलाडीले के गर्ने? नवयुग श्रेष्ठ भन्छन्ः ‘सेल्फ ट्रेनिङ’को विकल्प छैन

लक्ष्मी जि.सी
चैत १७, २०७६ सोमबार १५:८,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)  को उच्च जोखिम सूचीमा राखेपछि एक सातादेखि देश लकडाउन छ। नेपालका सबै क्षेत्रमा कोरोना असर देखिन थालिसकेको छ। स्वभाविक रुपमा अन्यजस्तै खेलक्षेत्र पनि कोरोनाबाट अछुतो छैन, ठप्प बन्न पुगेको छ। कोरोनाकै कारण राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेइ र अष्ट्रेलियासँग दशरथ रंगशालामा चैत १३ र १८ गते खेल्ने विश्वकप छनौट खेल स्थगित भइसकेका छन्।

सबै किसिमका खेल गतिविधि शून्य हुँदा खेलाडी, प्रशिक्षक सबै फुर्सदिला भएका छन्।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएपछि अधिकांश खेलाडी घरमा परिवारसँग समय बिताइरहेका छन्। राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुग श्रेष्ठ यतिबेला गृह जिल्ला इलाममा छन्। राष्ट्रिय टोलीको बन्द प्रशिक्षण रोकिएपछि उनी इलाम गएका हुन्। बन्द प्रशिक्षणमा आबद्ध हुनुअघि उनी मोफसलको फुटबलमा व्यस्त थिए। ‘राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित भयो, मोफसल प्रतियोगिता पनि रोकिए। त्यसपछि घर आएको हुँ। घरकै काम र सेल्फ ट्रेनिङ गरेर दिन बिताइरहेको छु’, उनी भन्छन्।

नेपालमा फुटबलले पछिल्लो समय विस्तारै गतिलिन खोजिरहँदा कोरोना संकटको सामना गरिरहेको हो। यसले नेपाली फूटबललाई लामो समयसम्म असर पार्ने संकेत देखिन थालेका छन्। अहिलेको अवस्थाले खेलाडीमा ठूलो असर पर्ने नवयुगको बुझाई छ। 'यसले खेलाडीलाई ठूलो असर गर्छ। हाम्रो फुटबलको हकमा कुरा गर्ने हो भने विभागीय टोलीबाहेकका खेलाडीको पारिश्रमिकमा असर पर्न सक्छ, उनले नेपालखबरसँग भने,‘अधिकांश खेलाडी क्लबबाट खेलिरहेका छन्। प्रतियोगिता नहुँदा त्यसले उनीहरुलाई धेरै फरक पर्दछ।’

nabayug shrestha2मैदानमा नवयुग श्रेष्ठ (बीच)।

खेल गतिविधि ठप्प हुँदा खेलाडीको फिटनेसमा पनि फरक पर्ने उनको बुझाइ छ। 'राष्ट्रिय टोली वा क्लबमा गरेजस्तो अभ्यास व्यक्तिगत रुपमा गर्दा हुँदैन', उनी भन्छन्, 'यसले फिटसनेमा असर गर्छ। अभ्यास नभएपछि फिटनेस हुँदैन। पुनः फिटनेसमा आउन समय लाग्छ। खेलाडी फिट नहुँदा त्यसले प्रदर्शनमा असर पर्छ।' परिस्थितिअनुसार सबैले आफूलाई बदल्नुपर्ने उनको भनाइ छ। 'हरेक खेलाडीले आफ्नोबारेमा आफैँ सोच्नुपर्छ। अहिलेको समयमा हामीले गर्ने सेल्फ ट्रेनिङ नै हो। त्यो बाहेक विकल्प छैन। म पनि सम्भव भएसम्म त्यही गरिरहेको छु', उनी भन्छन्।

नवयुगजस्तै धेरै खेलाडीलाई लकडाउनले परिवारसँग भेट्ने एउटा अवसर दिएको छ। नेपालमा घरेलु फुटबल व्यस्त हुँदा खेलाडीले परिवारलाई थोरै मात्र समय दिन पाउँछन्। त्यसमा पनि विभागीय खेलाडीको नियमित प्रशिक्षण हुनेगर्छ। उनीहरुले चाहने वित्तिकै घर जान पाउँदैनन्। नवयुव भन्छन्, ‘म खेलाडी मात्र हैन, आर्मी पनि हुँ। त्यसैले भनेको बेलामा बिदा मिल्दैन। परिवारले बुझ्नु भएको छ।'

सहिद स्मारक ए डिभिजन लिग, राष्ट्रिय टोलीको प्रशिक्षण र मोफसलका प्रतियोगिताले गर्दा झन्डै १० महिनादेखि नवयुग घर पुग्न पाएका थिएनन्। 'कारण राम्रो त होइन तर अहिले घरमा बस्न पाएको छु', उनी सुनाउँछन्, 'घरबाट बाहिर हिँड्न नपाए पनि परिवारसँग बस्दा रमाइलो नै भइरहेको छ। धेरैपछि यो माहौल मिलेको छ।'

कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्ने उद्देश्यले चैत ११ देखि लकडाउन गरिएको हो। नवयुगको बुझाईमा सरकारले गरेका यी निर्णयहरू ढिला आए। ‘सरकारले अलिक पहिले नै अन्तर्राष्ट्रिय उडान र भारतसँगका नाकाहरुमा कडाइ गर्नुपर्ने थियो। त्यो भएको भए यस्तो स्थिति आउने थिएन', उनी भन्छन्, 'ढिला गर्नाले विस्तारै हाम्रोमा पनि संक्रमण देखिन थालेको छ। यसले भोलिको दिनमा अझ संक्रमण बढ्ने खतरा संकेत गर्छ।'

फुटबल खेलाडी नवयुग श्रेष्ठ

ढिला भए पनि सरकारले लकडाउन गरेको र संक्रमण फैलन नदिन गरेको प्रयासलाई सबैले साथ दिनुपर्ने उनको भनाइ छ। 'हाम्रो दायित्व सरकारको काममा सहयोग गर्ने हो। त्यसैले लक डाउनको पूर्ण रुपमा पालना गर्न म सबैलाई आग्रह गर्न चाहन्छ', उनी भन्छन्, 'अहिले विश्व नै कठिन परिस्थितिमा छ। हामी आफैँले पनि आफ्नो सुरक्षा गर्नुपर्छ। सरकारको यो कदम हाम्रो सुरक्षाका लागि नै हो। सरकारले दिएका निर्देशन र विश्व स्वास्थ्य संगठनको सुझावलाई पालना गरौं।'

कोरोना भाइरसबारे जनमानसमा अझै सही बुझाई नरहेको नवयुगको बुझाई छ। हात पटक-पटक साबुन पानीले किन धुनुपर्ने? सामाजिक दूरी किन राख्नुपर्ने?, हात मिलाउन नहुनेसहितका विषयमा सामान्य जनताले बुझ्ने गरी सञ्चारमाध्यमले प्रसारण गरिराख्नु पर्ने उनको सुझाव छ। लकडाउनले आर्थिक गतिविधिमा असर गरेको छ। त्यसले सबैभन्दा बढी मार विपन्न वर्गमा परेको छ। ‘हाम्रो देशका सबै नागरिक आर्थिक रुपले सम्पन्न छैनन्। दैनिक मजदुरी गरेर परिवार पाल्नु पर्ने बाध्यता भएकाहरू धेरै छन्। यस्तो विषयमा सरकारले विशेष ध्यान दिन जरुरी छ', उनले भने, 'उनीहरुको अवस्था के छ, के खाइरहेका छन्, के गरिरहेका छन् भनेर एउटा अभिभावकको हिसाबमा सरकारले ध्यान दिन जरूरी छ। सरकार अप्ठेरोकै बेलामा देखिनुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .