अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपको ट्रफी आफ्नो व्यावसायिक क्लब पीएसजीको घरेलु मैदानमा प्रदर्शन गर्ने इच्छा व्यक्त गरेका छन्।
गोल डटकमका अनुसार मेस्सीले क्लबसँग पीएसजीका समर्थकहरुका लागि विश्वकपको ट्रफी क्लबको घरेलु मैदानमा प्रदर्शन गर्न अनुमति मागेका हुन्। यद्यपि क्लबले उनलाई प्रदर्शनको लागि अनुमति दिने वा नदिने भन्ने विषयमा कुनै निर्णय भने दिइसकेको छैन।
मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका हुन्। पीएसजीको एक प्रमुख खेलाडीको रुपमा रहेका मेस्सीको लागि यो पहिलो विश्वकपको उपाधि हो।
यद्यपि क्लबका मालिकको लागि मेस्सीको चाहना पूरा गर्नु त्यति सजिलो भने छैन। अर्जेन्टिनाले यसपटकको विश्वकप फाइनलमा फ्रान्सलाई नै पेनाल्टीसुटमा ४–२ले हराएको थियो।
त्यसैले पनि फ्रान्सेली क्लबले मेस्सीलाई विश्वकपको ट्रफी समर्थकलाई देखाउने अनुमति नदिन सक्छ।
त्यतिमात्र होइन फाइनल खेलमा ह्याट्रिक गर्ने फ्रान्सका केलियन एम्बाप्पे पनि पीएसजीको टोलीका अर्का मुख्य स्ट्राइकर हुन्।
त्यसैले विश्वकपको ट्रफी क्लबका समर्थकलाई देखाउँदा टोलीका खेलाडीहरुबीचको सम्बन्धमा फाटो आउन सक्ने आशंकाको कारण पनि क्लबले मेस्सीलाई यो अनुमति नदिन सक्ने समाचारमा उल्लेख छ।
Shares
प्रतिक्रिया