नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभा बैठक बहिस्कार गरेको छ।
कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा एमालेले मन्त्रिपरिषद्को निर्णयको माग गर्दै बैठक अवरुद्ध पारेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले गेटा विश्वविद्यालयका सम्बन्धमा सम्बोधन गरेपछि नेकपा एमालेका सांसदहरु उठेर मन्त्रिपरिषद्को निर्णयको माग गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत विश्वविद्यालय सम्बन्धमा धारण सार्वजनिक गर्नु पर्ने नेकपा एमालेका प्रमुख सचेतक सुरेन्द्र पालले बताए।
नभएसम्म बैठक चल्न नदिने उनको चेतावनी छ। ‘बाहिर यताका टीकाटिप्पणी भइरहेका छन्, आन्दोलनप्रतिको सरकारको धारण स्पष्ट पार्नु पर्यो, सरकार मौन किन छ,’ उनले भने।
त्यसपछि एमाले सांसदहरु बेल भएतिर गएर विश्वविद्यालय बनाउनु पर्ने माग गरेका थिए। एमाले सांसद बैठक छोडेर हिँडेपछि एक घण्टाका लागि प्रदेश सभा बैठक अवरुद्ध भएको छ।
गेटा विश्वविद्यालयको मागले सडक र सदन तताएको छ। सोमबार विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले दबाब स्वरुप प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरेको छ।
२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर, सरकारले १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरू गरिएको हो।
आइतबार प्रदेश बन्द गरिएको थियो भने सोमबार संघर्ष समितिले नाराबाजी र प्रदेशसभा घेराउ गरिएको छ।
Shares
प्रतिक्रिया