कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगो सल्केपछि उक्त ट्रक पूर्ण रुपमा नष्ट भएको छ।
आगलागीका कारण ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्रक जलिसकेपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
ट्रकमा रहेका लाइटरका कारण दमकलबाट पानीको फोहराले आगो नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेको थियो। अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए।
दमकलबाट पानीको फोहराले आगो नियन्त्रणमा लिने प्रयाससंग संगै जेसिबीको सहायताले बालुवा पनि हालिएको थियो। ट्रक जलेर पूर्ण रुपमा नष्ट भएपछि आगो नियन्त्रणमा आएको हो।
ट्रकबाट पुलका लट्ठामा पनि आगो सल्केको थियो। दमकलले पुलमा सल्केको आगो भने तत्कालै नियन्त्रणमा लिएको थियो।
कैलाली र बर्दियाका स्थानीय पालिकाको दमकलको सहायताले आगो नियन्त्रण ल्याइएको हो।
सोमबार विरगञ्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो।
ट्रक चालक र सहचालकको सकुशल छन्। ट्रकमा एक करोड भन्दा बढी मूल्य बराबरको लाइटर रहेका थिए। आगलागीको कारण भने खुल्न सकेको छैन।
कर्णाली सुदूरपश्चिमलाई लुम्बिनी प्रदेशसहित पूर्वसंग जोड्ने पुल हो। पुलमा गुडिरहेको ट्रकमा एक्कासी आगो लागेपछि सोमबार दिउँसोदेखि पुल भएर हुने आवतजावत ठप्प छ।
कर्णाली पुल भएर भित्रिने र बाहिरिने यातायातका साधनलाई वैकल्पिक बाटो भएर पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी राजिव बस्नेतले जानकारी दिए।
‘आगोले पुलको लट्ठा पग्लिएकाले पुल भएर हुने आवतजावत रोकिएको छ। जम्मा भएका सवारी साधन र अहिले आउजाउ गरिरहेका सवारी साधनलाई डाइभर्ट गरेका छौँ’, एसपी बस्नेतले भने।
कर्णाली पुलमा आवतजावत बन्द भएपछि कोठियाघाटको पुल भएर यातायातका साधन चलिरहेका छन्। यो घटनापछि कर्णाली पुलमा आवतजावत ठप्प गरिएको हो।
प्रत्यक्ष रुपमा लट्ठा पग्लिएको देखिएपछि आवतजावत बन्द गरिएको छ। पुलको क्षति अवलोकनका लागि काठमाडौँमा प्रावधिक टीमलाई खबर गरिएको छ।
मंगलबार प्रावधिक टोली आएर पुलको परीक्षण गर्ने छ। त्यसपछि मात्रै पुल सञ्चालन गर्ने/नगर्ने अवस्था यकिन हुने छ।
Shares
प्रतिक्रिया