भरतपुर महानगरले लोकप्रिय कार्यक्रम ल्याएको छ। महानगरले ५ अर्ब ७४ को बजेट ल्याउँदा छोरी बीमा कार्यक्रम, नि:शुल्क खानेपानी लगायतका कार्यक्रम ल्याएको हो।
महानगरको समानुपातिक विकासको लागि वडास्तरबाटै कार्यन्वयन हुने कार्यक्रमको लागि २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
भरतपुर महानगरपालिकाले सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट १ अर्व ३० करोड बजेट विनियोजन गरेको छ।
महानगरको एकीकृत सहरी विकास गुरु योजना तर्जुमा गर्ने, विद्युतीय बस खरिद गर्ने, सार्वजनिक शौचालय निर्माण लगायत सहरी सौन्दर्य करणको लागि २८ करोड बजेट विनियोजन गरेको छ।
भरतपुर महानगरले पशु विकास कार्यक्रमको लागि १५ करोड ५० लाख विनियोजन गरेको छ। कृषि क्षेत्रमा प्रतिलिटर दूधमा ३ लिटर अनुदानलाई निरन्तरता दिएको छ।
शिक्षा विकासको लागि एक वडा एक नमूना विद्यालय विकास कार्यक्रम ल्याएको छ। शिक्षा क्षेत्रको लागि १३ करोड बजेट विनियोजन गरेको छ।
स्वास्थ्य सेवामा नि:शुल्क ओपीडी टिकट अनुदान, पाठेघरको मुखको क्यान्सर, सुत्केरी हुने महिलालाई नि:शुल्क यातायात खर्च लगायतको लागि ७ करोड बजेट विनियोजन गरिएको छ।
खानेपानी तथा सरसफाई कार्यक्रमको लागि ७ करोड बजेट विनियोजन गरेको छ। महानगर भित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ता खानेपानी महशुल भुक्तानी गर्न ३ करोड बजेट व्यवस्थापन गरिएको छ। महानगरले एक वडा एक फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना, एक वडा एक पार्क निर्माण गर्ने भएको छ।
सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीको लागि ३ करोड बजेट विनियोजन गरिएको छ। महानगरमा कम्तीमा १ वटा आइटी पार्क, अनलाइन राजस्व प्रणाली, अनलाइन नक्सा लगायतको लागि खर्च गरिने भएको छ।
सहकारी तथा रोजगार प्रवर्द्धनको लागि २ करोड ५० लाख विनियोजन गर्दा पर्यटन तथा उद्योग वाणिज्य क्षेका २ करोड ५० र खेलकुद क्षेत्रको लागि २ करोड बजेट विनियोजन गरिएको छ।
सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुलाई जीवन बीमा कार्यक्रमको लागि २ करोड बजेट छुट्टाएको छ। महानगरले विपद व्यवस्थापन क्षेत्रको लागि २ करोड ४५ लाख बजेट विनियोजन गरेको छ।
महानगरपालिकाभित्र ग्रावेल सानातिना मर्मत तत्काल गर्नका लागि ८ करोड बजेट विनियोजन गरिएको छ।
महानगरको समग्र प्रशासनिक खर्चको लागि एकमुष्ट ७५ करोड बजेट विनियोजन गरिएको छ।
Shares
प्रतिक्रिया