काठमाडौंमा स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किई घाइते भएका बालकको मृत्यु भएको छ। बुधबार विद्यालयबाट फर्किने क्रममा दुर्घटनामा परेका काठमाडौं महानगरपालिका–२, लाजिम्पाटस्थित बेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलको कक्षा ५ मा पढ्ने १३ वर्षीय आयुष्मान दाहालको उपचारका क्रममा मृत्यु भएको हो।
सामाखुसीका आयुष्मान विद्यालय छुट्टी भएपछि विद्यालयकै बा १ क ४६४२ नंम्बरको बसमा घर फर्कंदै थिए। बसको पछाडिको सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेटनजिकको रुखमा ठोक्किएको थियो।
टाउकोमा गम्भीर चोट लागेकाले तत्कालै उनलाई उपचारका लागि विद्यालयका व्यवस्थापकले त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) लगेका थिए। उपचारकै क्रममा उनको बिहीबार बिहान साढे २ बजेतिर मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरी वृत्त दरवारमार्गले विद्यालयको बस र बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएको छ।
Shares
प्रतिक्रिया