पछिल्लो समय गाईभैंसीहरुमा लाग्ने लम्पी स्किन रोग प्रकोपकै रुपमा फैलिएको छ। देशका धेरै जिल्लामा फैलिएको लम्पी स्किन रोग बागमती प्रदेशमा पनि तीव्र रुपमा फैलिएको हो। १३ जिल्ला रहेको बागमतीमा हालसम्म १० जिल्लामा लम्पी स्किन डिजिज फेला परेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रे, रामेछाप र नुवाकोटमा लम्पी स्किन रोगका कारण गाईभैंसी संक्रमित भएका छन्। मन्त्रालयका अनुसार हालसम्म दोलखा र रसुवामा यो रोगको पुष्टि भएको छैन भने धादिङको विवरण प्राप्त गर्न बाँकी छ। यद्यपि, धादिङमा केही दिन अघिसम्म संक्रमण पुष्टि नभएको मन्त्रालयका पशुपन्छी महाशाखा प्रमुख निशान्त शर्माले जानकारी दिए।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै चितवनका गाईभैंसी संक्रमित भएको मन्त्रालयको तथ्यांक छ। चितवनमा १० हजार ६० गाईभैंसी लम्पी स्किन रोगबाट संक्रमित भएको तथ्यांक छ। जसमा संक्रमित गाईभैंसीको मृत्यु भने भएको छैन।
यस्तै, सिन्धुलीमा ९ हजार ६ सय ३४ गाईभैंसीमा यो रोग फेला परेको छ। जसमध्ये ४७ वटा गाई मरेका छन्। रामेछापमा १ हजार ९ सय ६५ गाईवस्तुमा यो रोग देखा परेको तथ्यांक छ। यस्तै, मकवानपुरमा ४ हजार ८ सय ३५ संक्रमित भएका मध्ये १ सय ९६ वटा गाईको लम्पी स्किनकै कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
यस्तै, काठमाडौंमा ८३ संक्रमित गाईभैंसी मध्ये ४ वटाको मृत्यु भएको छ भने ललितपुरमा ४० तथा भक्तपुरमा एउटा गाई संक्रमित भएको तथ्यांक छ। यस्तै, काभ्रेमा ४ सय गाईभैंसी यो रोगबाट संक्रमित हुँदा २ वटाको मृत्यु भएको छ।
मन्त्रालयको पशुपन्छी महाशाखाका अनुसार प्रदेशभर यो आर्थिक वर्षमा १८ हजार ३ सय २४ गाईभैंसी लम्पी स्किन रोगबाट संक्रमित हुँदा २ सय ६० गाईको मृत्यु भएको छ।
रोकथामका लागि सक्रिय मन्त्रालय
प्रदेशको १३ वटै जिल्लामा सरोकारवालाहरु माझ जनचेतना फैलाउन मन्त्रालयले प्रचार प्रसार सामग्री तथा सूचना प्रकाशन गरेर सुसूचित गराउने काममा सक्रियता देखाउँदै आएको मन्त्रालयका सचिव शरण कुमार पाण्डेले बताए।
यस्तै, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र शुरु गर्न जिल्लास्थित भेटेरिनरी अस्पताललाई निर्देशन दिएर खोपमा तीव्रता दिइएको पाण्डेको भनाइ छ। बागमती प्रदेशभित्र कुनै स्थानमा लम्पी स्किन डिजिज फैलिएमा मन्त्रालयको टोल फ्रि नम्बर १८१०६००००११ मा सम्पर्क गर्न समेत कृषक तथा सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको छ।
कस्तो हुन्छ लक्षण?
उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको छ। शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन्।
यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन्।
यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशतसम्म मर्न सक्छन्। धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पुर्याउन सक्छ। यो रोग मानिसमा भने सर्दैन।
त्यस्तै, संक्रमित गाईभैंसीको आवतजावत र लसपसबाट तथा संक्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा पनि यो रोग सर्ने गरेको पाइएको छ।
Shares
प्रतिक्रिया