काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरका हलमा हिन्दी फिल्म चल्न नदिइने निर्णयबाट आफू पछि नहट्ने जिकिर गरेका छन्।
फिल्म प्रदर्शकले हिन्दी फिल्म प्रदर्शन गर्न पाउनुपर्ने माग राखी दिएको रिट निवेदनमा उच्च अदालत (पाटन) ले बिहीबार भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
यस विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले यही असार १२ गते दुवै पक्षलाई अदालत बोलाएको छ।
तर मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताका सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने र काठमाडौं महानगरका हलमा हिन्दी फिल्म चल्न नदिने निर्णय यथावत् रहने जिकिर गरेका हुन्।
फिल्म लेखकले नै नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत प्रस्ट भइसकेको तर्क शाहले गरेका छन्। तर पनि भारतीय फिल्म प्रदर्शन गर्न दिनू भन्नु भनेको हाम्रा सरकार र अदालत भारतको गुलाम भएको आरोप उनले लगाएका छन्।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ, मेयर शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’
Shares
प्रतिक्रिया