ad ad

बागमती


दसैँ बिदामा २० हजार बढी पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

सौराहामा कोभिडपछिकै बढी पर्यटक
दसैँ बिदामा २० हजार बढी पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १९:४७, काठमाडौँ

दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन्।

जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन्।

उनीहरूले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन्। भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

उनका अनुसार सोही समयमा  सात सय ३७ पटक जीप सफारी भएको छ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन्। सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार  हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन्। यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ।

यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना बिदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ।

दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना बिदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना बिदेशी र १६ पटक जीप सफारी गरिएको उनले बताए। 

उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जीप सफारी गरिएको छ।

दसैँको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ। तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। 

कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उनले बताए।

‘गत वर्षहरूको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ,’ उनले भने।

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक
सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासी बढेको छ। दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए। 

कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन्। अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन्।

उनको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन्। आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उनले जानकारी दिए। 

दसैँको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन्।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन्। पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन्।

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जीप र डुङ्गा सफारी चलायमान भएका छन्। दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले  जानकारी दिए।

सौराहामा एक सय २५ होटल र ९५ रेस्टुरेण्ट रहेका छन्। मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ।

सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ। निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .