हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा सहभागी भएका छन्।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम उनी मन्त्री पदमा नियुक्त हुँदै शपथ ग्रहण गरे। उनले नेपाल भाषामा शपथ लिएका हुन्।
यसअघि मंगलबार मात्रै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हानेपा सरकारमा सहभागी भएको हो।
११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए।
अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन्। हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद पर्याप्त भएको छ।
Shares
प्रतिक्रिया