सरकारले विद्युतीय गाडीमा कर बढाएको कारण टाटा मोटर्स नेपालले यो वर्ष विद्युतीय गाडी नल्याउने निष्कर्ष निकालेको छ।
टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी टे«डिङले २०२० को सुरुमै प्रिमियम हचब्याग अल्ट्रोज र नेक्सनको विद्युतीय गाडी नेपाल ल्याउने योजना बनाएको थियो।
सिप्रदी टे«डिङले टाटाको अल्ट्रोज वैशाखमै ल्याउने तयारी गरे पनि लकडाउनका कारण ल्याउनसकेको थिएन। कम्पनीले अबको केही समयभित्रै नेपाली बजारमा अल्ट्रोज सार्वजनिक हुने बताएको छ।
‘हामीले टाटा नेक्सनको विद्युतीय कार र टाटा अल्ट्रोज ल्याउने योजना बनाएका थियौँ’, सिप्रदी टे«डिङका एक पदाधिकारीले भने, ‘सरकारले विद्युतीय गाडीमा बढाएको भन्सार र अन्तःशुल्कको कारण इभी नेक्सन यो वर्ष नल्याउने भयौँ। अल्ट्रोज छिट्टै बजारमा उपलब्ध हुनेछ।’
कम्पनीले नेपालमा हचब्यागमा अल्ट्रोज अत्यधिक रुचाइएको गाडीमा पर्ने विश्वास गरेको छ। निकै आरामदायी, ठूलो स्पेस, विशिष्ट फिचर तथा ठूला कारको जस्तै प्रस्तुति दिन सक्ने रहेको कम्पनीको दाबी छ।
टाटा अल्ट्रोजको मूल्य २९ लाख ९९ हजार रुपैयाँबाटै सुरु हुने र बढीमा ३८ लाख ५५ हजारसम्म पर्नेछ।
अल्ट्रोज पेट्रोल र डिजेल दुवै सेगमेन्टमा नेपालमा आउने कम्पनीले जनाएको छ। ३ सिलिन्डरको गाडी १२ सय सीसीमा पेट्रोल र ४ सिलिन्डरसहित १५ सय सीसीको डिजेल इन्जिनयुक्त छ। पेट्रोल इन्जिनको अधिकतम ६ हजार आरपीएममा ८६ पीएस र ३३ सय आरपीएममा ११३ टर्क शक्ति जेनेरेट गर्छ।
प्रतिक्रिया